close

महानगरका ३२ वटै वडाले सुविधासम्पन्न भवनबाट सेवा दिँदै छन् : महानगरप्रमुख शाक्य

महानगरका ३२ वटै वडाले सुविधासम्पन्न भवनबाट सेवा दिँदै छन् : महानगरप्रमुख शाक्य

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन निर्माण–पुनर्निर्माण गरिसक्ने बताएका छन् । आइतबार वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । ‘०७४ को स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भने, ‘महानगरले जीर्णावस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकताअनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन्, त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति लिएको थियो । पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ ।’

 

उनले सोही नीतिअनुसार अघि बढ्दा जनप्रतिनिधि मात्रै होइन, सेवाग्राही पनि खुसी भएको बताए । शाक्यले भने, ‘हामीले कतै नयाँ भवन निर्माण गरेका छौँ । कतै तला थपेका छौँ । अनि कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेका छौँ । केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढेका छौँ ।’

 


अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुनर्निर्माणका लागि स्वर्ण युग भएको उनको दाबी छ । ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्ण युग हो,’ शाक्यले भने, ‘अहिले जति सम्पदा निर्माण–पुनर्निर्माणको काम यसअघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुनर्निर्माणको काम यसअघिका जनप्रतिनिधिबाट भएको थिएन ।’

 

प्रमुख शाक्यले वडा नम्बर ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्राहीलाई सेवा सुरु गरेको जानकारी दिए । ‘वडा–२, ६, १२, १६, २०, २१, २२, ३१ को निर्माण कार्य भइरहेको छ,’ उनले भने, ‘५, ७, १०, १५, १७, ३२ को तला थपेर सञ्चालनमा छन् ।’  वडा ८ र ११ को खरिद प्रक्रिया अघि बढेको उनले जानकारी दिए । ‘वडा नम्बर २७ को शिलान्यास भयो । २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने ।

 


वडा नम्बर १९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाइ भएको र वडा नम्बर १३, २४ र २५ बन्न बाँकी रहेको उनले बताए । महानगरका अनुसार वडा नम्बर २८ को भवन निर्माणका लागि जग्गा खोजिरहेको छ भने वडा नम्बर २३ को कार्यालय भाडामा सञ्चालित छ ।

 

शाक्यले अहिले जति पनि वडा कार्यालय भवन बनेका छन्, ती मेयर, उपमेयर वा वडाध्यक्ष, सदस्यका लागि नभई स्थानीयका लागि भएको जानकारी दिए । ‘हामीले जिम्मेवारी पूरा गरेका छौँ । हामी कहिलेकाहीँ महानगर प्रमुख वा वडाध्यक्षका पालामा बनाएपछि उसैको हुने हो कि भन्ने भ्रममा पर्ने गर्छौं,’ उनले भने, ‘जुनसुकै वडा कार्यालय बन्दा मेयर वा वडाध्यक्षले हाम्रो पालामा काम सम्पन्न गर्न पायौँ भन्ने आत्मसन्तुष्टि मात्रै लिने हुन् । सेवा–सुविधा स्थानीयले पाउने हो ।’


शाक्यले काठमाडौं महानगरले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण गरिरहेको जानकारी दिए । ‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरूप एकै खाले र मौलिकता झल्किने हुनेछ,’ उनले भने, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ ।’

 

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा नम्बर २७ का वडाध्यक्ष चिनियामान वज्राचार्यलगायतले आ–आप्mना धारणा राखेका थिए ।  करिब ४ आना क्षेत्रफलमा निर्माण हुने वडा नम्बर २७ को भवनको स्टिमेट रकम ३ करोड ७९ लाख २७ हजार ७ सय १८ रुपैयाँ रहेको छ । लिफ्टसहितको अपांगतामैत्री भवन ६ तलाको हुनेछ । सोही भवनमा क्लब पनि रहनेछ ।