close

पदम रोकायाको राजनीतिक यात्रा : पञ्चायतको उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म

पदम रोकायाको राजनीतिक यात्रा : पञ्चायतको उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको सिंजा भेगमा पर्ने कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ रोकायाबाडामा जन्मेका पदमबहादुर रोकाया सक्रिय राजनीतिकर्मी हुन् । यो क्षेत्र नेपाली खस भाषा उत्पत्ति भएको ऐतिहासिक स्थल पनि हो । पर्यटनका अथाह सम्भावना रहेको यो क्षेत्रमा पौराणिक भग्नाशेष अहिले पनि देखिन्छन् । यो क्षेत्रले धेरै राजनीतिज्ञ पनि जन्माएको छ । 

 

१० असार ०१० मा दुर्गम गाउँमै जन्मिएका रोकायाले राजनीतिमा भने छलाङ हानेका छन् । बाल्यकालदेखि पढाइभन्दा राजनीति मोहमा बढी रुचि राख्दै आएका रोकायालाई पञ्चायतको उपप्रधानदेखि गणतन्त्रको मन्त्रीसम्म बन्ने सफलता मिल्यो । राजनीतिमा कहिले हार बेहोर्दै त कहिले जित निकाल्दै अघि बढेका रोकाया यो यात्रामा कहिल्यै थाकेनन् । यही आँट र साहसका कारण रोकाया आइतबार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।

 

उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका हुन् । ०३६ देखि राजनीति सुरु गरेका मन्त्री रोकायाले नेमकिपाबाट राजनीति यात्रा सुरु गरेका थिए । ०३८ मा गाउँ पञ्चायतमा युवा संगठनको सभापतिसमेत बन्न सफल भएका थिए । तर, ०४४ को पञ्चायत चुनावमा पञ्चायत विरोधी जनपक्षीय उम्मेदवार भई उनी उपप्रधानपञ्चमा निर्वाचित भए ।


०४७ मा नेकपा मालेको सदस्य बनेका रोकाया ०४७ मै नेकपा एमाले जिल्ला कमिटी सदस्य बने । एमाले जिल्ला कमिटीमा लगातार सचिवालय सदस्य हुँदै ०६५ मा पाटी जिल्ला उपाध्यक्षसमेत बनेका थिए । ०६४ सालमा एमालेबाट तत्कालीन जिविस बोर्ड सदस्यसमेत बनेका थिए । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवार भई बन्दसूचीमा परेका थिए ।


रोकाया दोस्रो संविधानसभा निर्वाचन ०७० मा पनि उम्मेदवार बनेका थिए । त्यसबेला उनी कांग्रेसका ललितजंग शाहीसँग पराजित भएका थिए । रोकाया ०७४ को जुम्ला जिल्ला क्षेत्र ‘ख’ बाट प्रत्यक्ष उम्मेदवार भई कांग्रेसका भीमनिधि हमाललाई दोब्बर मतले हराउँदै विजयी भएका थिए । हाल कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका रोकाया नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।


मन्त्री बनेसँगै रोकायाले जुम्ला र कर्णाली प्रदेशको विकासका लागि पहल गरिरहने प्रतिबद्धता जनाए । स्रोत–साधनले भ्याएसम्म कर्णालीको विकासमा लागिपर्ने उनको भनाइ छ ।