close

हिउँमा फसेका नागरिकको पाँच दिनपछि उद्दार

हिउँमा फसेका नागरिकको पाँच दिनपछि उद्दार

Trulli
ADVERTISEMENT

जुम्ला–हिउँमा फसेका जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ८ का ३४ नागरिकलाई ५ दिनपछि सकुशल उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा २५ माघमा हिउँमा फसेका ३४ नागरिकको सकुशल उद्दार गरिएको हो । 

 

गत २१ माघको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी वडा नम्बर ८ टोप्लाका ३४ नागरिक घर फर्किन नसकेर हिउँमै फसेका थिए । २३ माघमा प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्दारका लागि हेलिकोप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकाले हेलिकोप्टर अवतरण हुन नसकेपछि झन्डै २ क्विन्टल खाद्यान्न राहत फालेर उद्दार टोली फर्किएको थियो । 

 

बाक्लो हिउँ जमेर बाटोसमेत नखुलेकाले हिउँमा फसेका नागरिकको उद्दार हुन सकेको थिएन । मंगलबार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जना नागरिकसहित पाटनमा रहेका सयौँ भेडाको समेत सकुशल उद्दार गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ । 


प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हिउँमा फसेका ३४ नागरिक र तिनका भेडासहित घरमै सकुशल फर्किएको बताइन् । उनका अनुसार हिउँमा फसेका ३६ मध्ये २ जना नागरिक २२ माघमै घर फर्किइसकेका थिए । सेतो चिनी जडीबुटी संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार, प्रहरी प्रशासन र तातोपानी पालिका नागरिकको राहत र उद्दारमा जुटेको थियो । 

 

तातोपानी गाउँपालिका वडा नम्बर ८ को गाग्रो पाटनको एडीओडार, खोटीसल्ला ओडार र गाग्रो ओडारमा बसेका नागरिकको उद्दार गरिएको तातोपानी पालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । उनले भने, ‘सेतो चिनी (खिरौला) जडीबुटी संकलन गर्न पाटनमा गएका नागरिक बिहीबारदेखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए । २३ माघमा हवाई उद्दार गर्न सकिएन, त्यसैले राहत दियाँै । तर, पुनः हिउँ पर्न सक्ने देखिएपछि सबैको समन्वयमा हिउँमा फसेका ३४ नागरिकलाई घरमा ल्याइएको छ ।’


त्यस्तै, पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा २ जनाको मृत्यु भएको छ । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जडीबुटी संकलन गएका तातोपानी गाउँपालिका तातोपानी वडा नम्बर ८ की ३७ वर्षीया महिला देवी शाही र वडा नम्बर ७ बारगाउँका ४६ वर्षीय पुरुष मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।