close

नमोबुद्धको ११औँ नगरसभा : पाँच वर्षमा ७० वटा ऐन–नियम निर्माण

नमोबुद्धको ११औँ नगरसभा : पाँच वर्षमा ७० वटा ऐन–नियम निर्माण

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिकाको ११औँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगर प्रमुख टीपी शर्मा तिमल्सिनाको अध्यक्षताको ११औं नगरसभाको दोस्रो बैठकले संंस्था दर्ता सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।

 

नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिं लामाले नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ पेस गरेका थिए । नगरसभाको बैठकले सर्वसम्मत उक्त विधेयक पारित गरेको हो ।

 

यस्तै, नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नम्बर २ का वडाध्यक्ष सञ्जीव ढकालद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७८ माथिको संशोधन प्रस्ताव पनि बैठकले पारित गरेको छ । संघ–संस्थासम्बन्धी विधेयक र विनियोजन विधेयक संशोधन प्रस्ताव गत २९ पुसमा बसेको ११औँ नगरसभाको पहिलो बैठकमा पेस गरिएको थियो ।

 

नमोबुद्ध नगरपालिकाले ११औँ नगरसभा सम्पन्न गरिसक्दा ७० वटा ऐन–नियम बनाइसकेको छ । पाँच वर्षे कार्यकालको अन्तिम चरणमा ११औँ नगरसभासम्म आइपुग्दा जनप्रतिनिधिबीच सहमति र सहकार्यमै नगरको विकासका साथै आवश्यक ऐन नियम, निर्देशिका र कार्यविधि तयार पारेर कार्यान्वयन गरिएको नगरप्रमुख तिमल्सिनाले बताए ।

 

बैठकमा नगरसभाका सदस्यसचिव एवं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण पेस गरेका थिए । 

 

नमोबुद्ध नगरपालिकामा चालू आर्थिक वर्षका लागि ७२ करोड ६६ लाख ९२ हजार ६ सय ६१ रुपैयाँ विनियोजन भएकामा २५.४५ प्रतिशत अर्थात् १८ करोड ५० लाख ८ हजार ५ सय १ रुपैयाँ खर्च भएको छ । 

 

नगरपालिकाबाट यो वर्षका लागि १ सय ४३ वटा योजना छुट्याइएकामा अधिकांश योजनाको काम सुरु भइसकेको पौडेलले जानकारी दिए । काम सम्पन्न भएपछि मात्रै ती योजनाको रकम भुक्तानी हुने भएकाले वित्तीय प्रगति कम देखिएको उनको भनाइ छ ।