close

सिरहामा बाँडियो १ हजार घरपरिवारलाई लालपुर्जा 

सिरहामा बाँडियो १ हजार घरपरिवारलाई लालपुर्जा 

Trulli
ADVERTISEMENT

सिरहा–भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपुर्जा वितरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् । मिर्चैया नगरपालिका वडा नम्बर १ र २ (साविक रामपुर बिर्ता र मल्हनिया खोरी) मा विशेष नापीमार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपुर्जा वितरण कार्यलाई प्राथमिकता दिँदै आएको बताएकी हुन् ।


जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले ०२१ यता नापी हुँदा गाउँब्लकका रूपमा लामो समयदेखि थन्किएर बसेको कामलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेको र यस वर्षभित्र लालपुर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको उनले जानकारी दिइन् ।


जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन बनिरहेकाको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहीन भएर बस्नु नपर्ने दाबी मन्त्री श्रेष्ठको छ । संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्ने गरी अगाडि बढिरहेको बताइन् ।

 

मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । सिरहामा बुधबार, बिहीबार र शुक्रबार गाउँब्लकमा रहेका १ हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिसक्ने कार्यक्रम छ । यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी थिइन् । 

 


०२१ यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँब्लकका रूपमा रही अफ्नो घरजग्गाको लालपुर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपुर्जा वितरणमा ढिलाइ गर्न नहुनेमा जोड दिँदै आएको मन्त्री श्रेष्ठले बताइन् । मन्त्री श्रेष्ठले हरूवा चरुवाको समस्या स्थायी रूपमै समाधान गर्ने गरी काम सुरु भइसकेको जानकारी दिइन् । 

 


सिरहाको बरियारपट्टीमा हरूवा चरुवा, कमैया कमलरीको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले हरूवा चरुवाका वास्तविक समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदनअनुसार दिगो समाधान गर्ने गरी सरकार अघि बढ्ने बताइन् । उनले हरूवा चरुवाको रोजगारी हक कार्यान्वयनका लागि युवा तथा तिनका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिइन् । 

 


यसका लागि बजेट व्यवस्थापन गरिसकेको उनको भनाइ छ । सिरहामा रहेका हरूवा चरुवा बस्तीको निरीक्षण गरी मन्त्री श्रेष्ठले जानकारी लिइन् ।
मन्त्री श्रेष्ठले हरूवा, चरुवा कमैया कमलरीको समस्या समाधान गर्न ५ सदस्यीय अध्ययन समिति गठन गरेकी छन् । अध्ययन समितिले हरूवा, चरुवा, हलिया र कमैया कमलरीो विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाउनेछ ।