close

चौतर्फी दबाबपछि मुगुका सांसद बानियाविरुद्ध बलात्कार मुद्दा दर्ता

चौतर्फी दबाबपछि मुगुका सांसद बानियाविरुद्ध बलात्कार मुद्दा दर्ता

Trulli
ADVERTISEMENT

जुम्ला–जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगुका सांसद मोहन बानियाविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । 

 

सांसद बानियाको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नम्बर ३७२ मा दर्ता भएको छ । पीडित महिलाले सांसद बानियाले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । 

 

जिल्ला प्रहरी कार्यालय बाँकेले बहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने बताउँदै मुद्दा दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले सांसद बानियाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको जानकारी दिए । उनले भने, ‘सांसदविरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’


जाहेरी दिएको चार दिनपछि मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता नभएको बारे चौतफी दबाब सिर्जना भएपछि जिप्रका बाँकेले मुद्दा दर्ता गरेको हो । पीडित महिलाले सांसद बानियालाई तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेकी छन् ।


पीडित महिलाले भनिन्, ‘सांसद बानियाविरुद्ध मुद्दा दर्ता भएको खबर प्राप्त भएको छ । डिएसपीले मुद्दा दर्ता भइसक्यो । दर्ता नम्बर लिन आउनुहोस् भनेर फोन गर्नुभएको थियो ।’ १९ माघ बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगर वडा नम्बर २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा सांसद बानियाले बलात्कार गरेको पीडित महिलाको दाबी छ ।


सांसद बानियाले ८ मंसिर ०७६ मा सामूहिक व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएका थिए । त्यो रकम फिर्ता गर्न पटक–पटक पीडित महिलासँग छलफल तथा भेटघाट गरेका थिए । सांसद बानिया रुपैयाँ दिन्छु भन्दै १८ माघमा सुर्खेत पुगेका थिए । तर, सुर्खेतमा भेट हुँदा पैसा नभएको भन्दै नेपालगञ्जमा आफन्तले रकम जम्मा गरिसकेकाले सँगै त्यहाँ जान दबाब दिए । 

 

बानियाले अप्सरा होटलको २१५ नम्बर कोठा बुक गरेका थिए । पीडित महिलाले भनिन्, ‘घर जान्छु, भोलि बिहान रकम ल्याइदिनुस् भनेँ । तर, अबेरसम्म रकम ल्याउने भनेर सांसद बानियाले होटलमै बस्न दबाब दिए । बिहान ५ बजे सांसद बानियाले ढोका ढक्ढकाएर रकम आइसकेकाले लिन आग्रह गर्दै ढोका खोल्न लगाए ।’


ढोका खोल्नेबित्तिकै सांसद बानियाले जबर्जस्ती करण गर्न खोजेको उनले दाबी गरिन् । करणी गर्न नदिए यही कोठामै मारिदिन्छु भनेर धम्की दिएको पीडित महिलाको गुनासो छ । अन्याय सहन नसकेर जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको उनले बताइन् । पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको प्रहरीले बताएको छ ।