close

फनपार्क निर्माण गर्दै बागमती

फनपार्क निर्माण गर्दै बागमती

Trulli
ADVERTISEMENT

सर्लाही–सर्लाहीको बागमती नगरपालिकाले फनपार्क निर्माण सुरु गरेको छ । दक्षिण एसियाकै ठूलो मानव निर्मित ताल निर्माण गरिरहेको नगरपालिकाले बगैंचा बनाउन थालेको हो । वडा नम्बर ११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडक व्यवस्थापन भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।

 

उनका अनुसार चालू आर्थिक वर्ष ०७८/७९ मा सडक निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न फनपार्क निर्माण थालिएको नगरपालिकाले जनाएको छ । चुरे पहाडको फेदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण सुरु भएसँगै व्यवसायीको नजर यो पार्कमा पर्न थालेको छ ।


यहाँ निजी क्षेत्रबाट पनि रिसोर्ट निर्माण सुरु भएको छ । बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्क निर्माण भइरहेकाले बर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने लक्ष्य लिइएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् । फनपार्कभन्दा पश्चिम छिमेकी रौतहटको पर्यटकीय क्षेत्र नूनथर रहेको र नूनथरमा बर्सेनि लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटकको आकर्षण हुने विश्वास उनको छ । 


फनपार्क निर्माणपछि हजारौँले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने जनाउँदै नगर प्रमुख थापाले फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्कमाथि चुरेडाँडामा गौतमबुद्धको प्रतिमा राखिनेजस्ता ठूला योजना पनि फनपार्कसँग जोडिएको बताए ।