close

तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउँदै बागमती प्रदेश

तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउँदै बागमती प्रदेश

Trulli
ADVERTISEMENT

मकवानपुर–बागमती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवस मनाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा ४२ सदस्य ‘प्रजातन्त्र दिवस २०७८ प्रदेश स्तरीय मूल समारोह समिति’ गठन गरिएको छ ।

 


मंगलबार समिति अध्यक्ष तथा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशभर तीन दिनसम्म दिवस मनाउने निर्णय गरेको समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए । दिवसलाई भव्य रूपमा मनाउन ६ देखि ८ फागुनसम्म विभिन्न कार्यक्रम गर्न आह्वान गरेको छ ।

 

बैठकले दिवस अवसरमा मन्त्रालय, कार्यालय र सार्वजनिक स्थानको सरसफाइसहित नगर क्षेत्रको सरसफाइ व्यवस्थापनका लागि हेटौंडा उपमहानगरलाई जिम्मेवारी दिने निर्णय गरेको छ । संघीय सरकारले दिवस मनाउन गरेको निर्णयअनुसार तीन दिन मन्त्रालय, कार्यालय सार्वजनिक एवं सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान, निकाय र प्रदेसबासीको घरघरमा समेत दीपावली गर्न आह्वान गरेको छ ।

 


बैठकले साइकल राइडरको सहभागितामा राष्ट्रिय झन्डा ब्यानरसहितको साइकल ¥यालीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिएको छ । दिवसमा सुरक्षा निकायले संयुक्त रूपमा सलामी प्रदान गर्ने कार्यको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले गर्ने निर्णय भएको कानुनमन्त्री खनालले बताए ।

 

मन्त्रालयका अनुसार ६ फागुनमा सार्वजनिक स्थल सरसफाइ, ७ फागुनमा ¥याली र सभा तथा ८ फागुनमा नेपालको राष्ट्रिय झन्डात्तोलनसहित तीनै दिन दीपावली गर्ने निर्णय भएको छ । सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचार–प्रसारको जिम्मेवारी पत्रकार महासंघ बागमती प्रदेश समितिलाई दिइएको छ ।

 

दिवसको पहिलो दिन मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुखसहित मूल समारोहका पदाधिकारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम सञ्चालन गरिनेछ । गठित समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ ।