close

 सप्तकोशी नगरपालिकामा झडप

 सप्तकोशी नगरपालिकामा झडप

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको सप्तकोशी नगरपालिकामा विभिन्न ४ राजनीतिक दलले लगाएको ताला तोडेपछि झडप भएको छ । झडपका क्रममा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको हो ।

 

आर्थिक वर्ष २०७८/७९ का नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले गत माघ २४ गते नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरुले बिहीबार तालाबन्दी गरेका थिए ।

 

चार दलका कार्यकर्ताले आइतबार पुनः ताला लगाउन खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सम्भावित झडप रोक्न नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।