close

नमोबुद्ध नगरपालिकामा सार्वजनिक सुनुवाइ

नमोबुद्ध नगरपालिकामा सार्वजनिक सुनुवाइ

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कार्यबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । आर्थिक बर्ष ०७७÷७८ मा नगरपालिकाबाट गरिएको सेवा प्रवाह र विकास निर्माणबारे नगरपालिकाका विभिन्न ठाउँमा सार्वजनिक सुनुवाइ गरिएको हो ।  सोमबार र मंगलबार गरी चार ठाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । सोमबार वडा नम्बर १, ९, १० र ११ को सार्वजनिक सुनुवाइ वडा नम्बर १० को कार्यालयमा सम्पन्न भएको थियो । 

 

यस्तै, सोमबार नै वडा नम्बर ६, ७ र ८ को सार्वजनिक सुनुवाइ नगरपालिका सभाहलमा सम्पन्न भएको थियो । मंगलबार वडा नम्बर ३ र ४ को सार्वजनिक सुनुवाइ वडा नम्बर ३ को दाहालचौर र वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ कानपुरमा सम्पन्न भएको छ । 

 

वडा नम्बर १० मा भएको सार्वजनिक सुनुवाइमा दाप्चा क्षेत्र पुनरुत्थान, खानेपानी समस्यालगायत विषयमा, नगरपालिका हलमा भएको सार्वजनिक सुनुवाइमा नगरबासीले क्रसर उद्योगको धुलोका कारण परेको समस्या, सडकको स्तरोन्नति नहुँदा भएका समस्यालगायत विषयमा जवाफ मागेका थिए । 

 

दाहालचौरमा भएको सार्वजनिक सुनुवाइमा बाटो कालोपत्रेमा भएको ढिलाइलगायत विषयमा नगरबासीले प्रश्न गरेका थिए भने कानपुरमा भएको सार्वजनिक सुनुवाइमा शिक्षक दरबन्दी मिलान, आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनलगायत विषयमा नगरबासीले प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाइमा नगरबासीले उठाएका प्रश्नको जवाफ नगरप्रमुख टीपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले दिएका थिए । नगरप्रमुख तिमल्सिनाले कार्यकालको अन्तिम समयमा आइपुगेको र पछिल्लो पाँच वर्षको अवधिमा जनअपेक्षाअनुसार सक्दो काम गरेको बताए । 

 

चुनावी प्रतिबद्धताअनुसार वातावरणमैत्री नगर निर्माण, सबै वडा कार्यालयको भवन निर्माण, स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको तिमल्सिनाले जानकारी दिए । सुशासन, आवश्यक कानुन निर्माणलगायतका विषयमा नमोबुद्ध नगरपालिका अग्रपंक्तिमा रहेको उनको दाबी छ । बजेट र योजना निर्माणमा सबैको सहमतिमा गरिएको तथा पाँच वर्षमा सबैको सहमतिमै नगरसभा, कार्यपालिका बैठक गरिएको तिमल्सिनाले जानकारी दिए । 


चार वटै सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अघिल्लो आर्थिक बर्षमा सम्पन्न गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर श्याम खनालले गरेका थिए ।