close

दोलखाको कालिञ्चोक बालमैत्री पालिका घोषणा हुँदै

दोलखाको कालिञ्चोक बालमैत्री पालिका घोषणा हुँदै

Trulli
ADVERTISEMENT

दोलखा– दोलखाको कालिञ्चोक गाउँपालिकाले बालबालिकाको अधिकारलाई लक्षित गरी पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी थालेको छ ।
गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने गरी तयारी तीव्र पारिएको पालिका उपाध्यक्ष कालिका पाठकले बताइन् ।

 

उनका अनुसार बालमैत्री घोषणाका लागि पालिकाले ०७६ देखि नै सूचक पूरा गर्ने गरी अभियान सञ्चालन गरेको थियो । अभियान सञ्चालन भएको दुई वर्षमा सबै सूचक पूरा हुने चरणमा रहेका उनको भनाइ छ । सूचक पूरा हुनेबित्तिकै औपचारिक रूपमा बालमैत्री गाउँपालिका घोषणा गरिने उनले जानकारी दिइन् ।

 

कोरोना महामारीका कारण बालमैत्री अभियानमा चुनौती भए पनि निरन्तरता दिन सकिएकाले चाँडै घोषणा गर्न सकिने उनको दाबी छ । उनले भनिन्, ‘कोरोना प्रभावले पटक–पटक घोषणा मिति सार्नुपरेको थियो । अब घोषणा गर्ने गरी अभियानलाई तीव्र पारेका छौँ ।’ फागुन अन्तिम वा चैत पहिलो साता गाउँपालिकालाई बालमैत्री घोषणा गरिने उपाध्यक्ष पाठकको भनाइ छ ।

 

बालमैत्री स्थानीय तह बनाउने अभियानअन्तर्गत बालबालिकासम्बन्धी तथ्यांक संकलन, सबै वडा र विद्यालयमा बाल क्लब गठन तथा परिचालन गरिएको छ । समुदाय परिचालन गरी बालश्रम र बालविवाहलाई अन्त्य गर्न अभियान चलाइएको छ । 

 

सबै सूचक पूरा गर्ने काम अन्तिम चरणमा पुगेको पालिकाले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार बालमैत्री अभियान सञ्चालन गरेको दुई वर्षपछि सूचक पूरा हुने चरणमा छ ।

 

३९ सूचक, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितासहितका सबै क्षेत्र तथा पक्षमा काम गरी पालिकालाई बालमैत्री घोषणा गर्न लागिएको उनले बताए । पालिकाले ०७७ देखि बालमैत्री घोषणा गर्ने लक्ष्यसहित बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए ।