close

बुद्धभूमि नगरपालिकालाई नगर विकास कोषको ऋण सहयोग

बुद्धभूमि नगरपालिकालाई नगर विकास कोषको ऋण सहयोग

Trulli
ADVERTISEMENT

कपिलवस्तु–सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ भरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि ऋण सम्झौता भएको छ । आयोजना सञ्चालन तथा व्यवस्थापनका लागि नगर विकास कोष र गोरुसिंगे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सम्झौता भएको हो ।

 

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रराज टण्डनबीच सम्झौता भएको थियो ।
ऋण सम्झौतामा जमानतकर्ताको रूपमा हस्ताक्षर गरेका बुद्धभूमिका नगरप्रमुख केशवकुमार श्रेष्ठले सहरीकरण उन्मुख वडामा ठूला योजना सञ्चालन हुँदा नगरमा विकास भएको अनुभुति हुने बताए ।

 

बुद्धभूमि नगरपालिकाका लागि आयोजनाको महत्त्वमाथि प्रकाश पार्दै नगरपालिकाका नमुनाको रूपमा सम्पन्न गर्न नगरपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

 

कार्यकारी निर्देशक सापकोटाले आगामी दिनमा बुद्धभूमि नगरपालिकासँग सहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहरमैला व्यवस्थापनलगायतका अन्य आयोजनामा समेत सहकार्य हुने विश्वास व्यक्त गरे ।

 

सम्झौता कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष टण्डनले आयोजना सम्पन्न गराउन नगर विकास कोष, आयोजना व्यवस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकीय तथा प्राविधिक सहयोग प्राप्त भए समयमै योजना सम्पन्न हुने प्रतिबद्धता जनाए ।

 

एसियाली विकास बैंंकको वित्तीय सहयोगमा सञ्चालित हुने आयोजनाको कुल लागत १९ करोड १० लाख ५७ हजार रुपैयाँ छ । यसमा सरकारको तर्फबाट ७० प्रतिशत अनुदानबापत १३ करोड ३७ लाख, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋणबापत ४ करोड ७७ लाख ६४ हजार तथा आयोजनाबाट लाभान्वित हुने उपभोक्ताका तर्फबाट ५ प्रतिशतबापत ९५ लाख ५२ हजार रुपैयाँ छ । 

 

आयोजनाबाट २ हजार ८ सय ५८ घरधुरीका १६ हजार ४ सय ७५ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बुद्धभूमि नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भेषराज शर्मा खनालले बताए ।