close

नमोबुद्धमा नवप्रवर्तन केन्द्र स्थापना गर्न बहुपक्षीय समझदारी

नमोबुद्धमा नवप्रवर्तन केन्द्र स्थापना गर्न बहुपक्षीय समझदारी

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) स्थापनाका लागि बहुपक्षीय समझदारी भएको छ । राष्ट्रिय युवा परिषद्, नमोबुद्ध नगरपालिका, काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 


समझदारीपत्रमा हस्ताक्षरसँगै अब नवप्रवर्तन केन्द्र स्थापनाको काम अघि बढ्नेछ । समझदारीपत्रमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिना, काठमाडौं विश्वविद्यालयका निर्देशक प्रा.डा दीपकप्रसाद सुवेदी र आइडिया स्टुडियो नेपालका बोर्ड अफ डाइरेक्टर सुरेश सिंखडाले हस्ताक्षर गरे ।

 

नमोबुद्ध नगरपालिकाको वडा नम्बर ८ मा रहेको आरुबारीचौरमा केन्द्र स्थापना हुन लागेको हो । नवीनतम सोच लिएका युवालाई आवश्यक परामर्शका साथ प्राविधिक तथा व्यावसायिक तालिमका माध्यमबाट तिनको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान र सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्र स्थापना हुन लागेको हो ।

 

सोही क्रममा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र तथा इन्क्युबेसन सेन्टर सञ्चालन तथा नमुना विकाससम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न बहुपक्षीय समझदारीमा हस्ताक्षर गरी कार्यान्वयन प्रक्रिया सुरु गरिएको हो ।

 

देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाले आफ्ना नियमित कार्यक्रममा नवप्रवर्तन तथा इन्क्युबेसनलाई समावेश गर्दै लैजाने, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले नवप्रवर्तन तथा इन्क्युबेसनलाई आफ्ना क्रियाकलापमा आत्मसात गर्दै लैजाने, देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाले नवप्रवर्तनमा अनुसन्धानलाई समेट्दै लैजाने, विज्ञान र प्रविधिका विद्यार्थीलाई तोकिएबमोजिम प्रतिस्पर्धाका आधारमा नवप्रवर्तन अनुदान उपलब्ध गराउनेलगायत लक्ष्य केन्द्रको छ ।

 


समझदारीअनुसार नवप्रवर्तन केनद्र स्थापना र सञ्चालनको मुख्य भूमिका राष्ट्रिय युवा परिषदले निर्वाह गर्नेछ । यस्तै, नमोबुद्ध नगरपालिकाले जग्गा भोगाधिकार र अभ्यास साझेदारको रूपमा भूमिका निर्वाह गर्नेछ भने काठमाडौं विश्वविद्यालयले ज्ञान साझेदार र आइडिया स्टुडियो नेपालले प्राविधिक साझेदारको भूमिका वहन गर्नेछन् ।

 

केन्द्र स्थापनाका लागि नमोबुद्धले अघिल्लो वर्ष नै नगरपालिकाको वडा नम्बर ८ मा अवस्थित आरुबारीचौरमा रहेको जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । हाललाई पाँच वर्षका लागि चार पक्षबीच समझदारी गरिएको र आवश्यकताअनुसार अवधि थप गर्ने सहमति भएको छ । 

 


सरकारले युवा विकासका क्षेत्रमा युगान्तकारी परिवर्तन गराउने कार्यक्रमका रूपमा ‘युवा नवप्रवर्तन केन्द्र’ को स्थापनालाई १५औँ योजनाको आधारपत्रमा उल्लेख गर्दै आव ०७६/७७ को नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिसकेको छ । नवप्रवर्तनात्मक सोच भएका युवाको राष्ट्रव्यापी रूपमा खोजी गर्दै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन अवसर जुटाई प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ ।

 

सोही नीतिअनुसार नमोबुद्धमा राष्ट्रिय स्तरको नवप्रवर्तन केन्द्र स्थापना हुनु गौरवको विषय भएको नगरप्रमुख तिमल्सिनाले बताए । केन्द्र स्थापना एवं सञ्चालनका लागि नमोबुद्धले सक्दो सहयोग गर्ने र समझदारीअनुसार तत्कालै काम सुरु हुने उनको भनाइ छ ।