close

घट्यो विदेश रोजगारमा जानेको संख्या

घट्यो विदेश रोजगारमा जानेको संख्या

Trulli
ADVERTISEMENT

काठमाडौं–पछिल्लो २ महिनामा वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको संख्या घटेको छ । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबैभन्दा कम २५ हजार ४ सय र मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ थियो । त्यसपछिका महिनामा संख्या घट्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

 

विभागका अनुसार पुसमा ६६ हजार ६२५ नेपालीले अन्तिम श्रम स्वीकृति लिएकोमा माघमा ५४ हजार ४७० जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन् । पछिल्लो ७ महिनामा ३ लाख ४९ हजार नेपाली श्रमिक विश्वका विभिन्न ८४ मुलुकमा रोजगारका लागि गएका छन् । जिल्लागत रूपमा गत माघमा सबैभन्दा बढी श्रमिक धनुषाबाट विदेशिएका छन् । मनाङबाट रोजगारीका लागि विदेश जानेको संख्या शून्य छ ।

 

धनुषाबाट ३३ हजार ३८८ बाहिरिएका छन् भने सबैभन्दा कम मुस्ताङबाट चार जना वैदेशिक रोजगारमा गएका छन् ।  प्रमुख श्रम गन्तव्य साउदी, कतार, दुबईलगायत खाडी मुलुकमा जाने कामदारको संख्या घटिरहेको छ । केही वर्षअघि नेपाली श्रमिकको पहिलो रोजाइ मलेसिया हुने गरेकामा पछिल्लो समय साउदी रोजगारीमा आकर्षण बढेको थियो ।

 

पछिल्लो ७ महिनामा करिब ३ लाख ५० हजार नेपाली वैदेशिक रोजगारीमा जाँदा १ लाख २२ हजारभन्दा बढी साउदी गएका छन् । फागुनमा साउदी जाने नेपाली १९ हजार ८३१ जना छन् । गत पुसमा साउदी जानेको सख्या २५ हजार बढी थियो । पुसको तुलनामा माघमा ५ हजार २८७ जना कामदार घटेका छन् ।

 

दोस्रो ठूलो श्रम गन्तव्य कतार र तेस्रो ठूलो श्रम गन्तव्य यूएई जाने नेपालीको संख्या पनि घटेको छ । कतारमा पछिल्लो ७ महिनामा १ लाख १५ हजार ८४७ नेपाली रोजगारका लागि गएका छन् । गत माघमा १४ हजार ७५१ नेपाली कामदार रोजगारका लागि कतार गएका छन् । यूएईमा गत माघमा ११ हजार ३०३ नेपाली रोजगारका लागि गएको विभागले तथ्यांक सार्वजनिक गरेको छ ।