close

स्थानीय तह निर्वाचन : दल दर्ता संख्या २९ पुग्यो 

स्थानीय तह निर्वाचन : दल दर्ता संख्या २९ पुग्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं–आउँदो ३० वैशाखमा तय गरिएको स्थानीय तहको निर्वाचनका लागि हालसम्म थप १९ राजनीतिक दलले निवेदन दिएका छन् ।  निर्वाचनमा भाग लिन दर्ता हुन निवेदन दिने दलको संख्या २९ पुगेको निर्वाचन आयोगले जनाएको छ । 

 

थप निवेदन दिने दलमा बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समावेशी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा रहेका छन् ।

 


यस्तै, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल,
समाजवादी केन्द्र नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् ।

 


निर्वाचनमा खटिने जनशक्तिको बीमा गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रतिव्यक्ति बीमांक रकम २० लाख रुपैयाँको बिमा गर्न सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बीमाप्रदायक कम्पनीसँग प्रस्ताव माग गरेको छ । 

 

आयोगले स्थानीय तह निर्वाचनको मतदान कार्यमा संलग्न हुनेका लागि कोभिड–१९ को महामारीलाई रोकथाम गर्ने स्वास्थ्य सामग्री (मास्क र स्यानिटाइजर) र प्राथमिक उपचारका स्वास्थ्य सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । 

 

स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट माग गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा निकासाका लागि अनुरोध गरी पठाइएको छ ।