close

मालदिभ्समा नेपाली श्रमिक पठाउन श्रममन्त्रीको पहल

मालदिभ्समा नेपाली श्रमिक पठाउन श्रममन्त्रीको पहल

Trulli
ADVERTISEMENT

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि मालदिभ्सका नवनियुक्त राजदूत हसन नियाजले भेट गरेका छन् । ललितपुरस्थित निवासमा भएको भेटमा उनीहरूबीच नेपाल–मालदिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोबारे छलफल भएको छ ।

 


भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सलाई मालदिभ्समा रोजगारी उपलब्ध गराउन मालदिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपालले सकारात्मक रूपमा लिएको बताए । पछिल्लो समय मालदिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ ।

 


मालदिभ्समा ५ हजार बढी नेपाली श्रमिक कार्यरत छन् । मन्त्री श्रेष्ठले मेडिकल क्षेत्रबाहेक पर्यटन, निर्माणलगायतमा पनि नेपाली श्रमिकलाई हुन सक्ने रोजगारीको अवसरबारे राजदूतसँग चासो राखेका थिए । नेपाली डाक्टर तथा नर्सलाई मालदिभ्सका सरकारी अस्पतालमा रोजगारी उपलब्ध गराउन नेपाल–मालदिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिने तयारी छ ।


अहिले मालदिभ्सका विभिन्न स्वास्थ्य संस्थामा २ सय बढी नेपाली डाक्टर तथा नर्स कार्यरत छन् । उनीहरूले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकले मुद्रा विनिमयको सुविधा नदिँदा अनौपचारिक बजारमा महँगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरे ।


मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि मालल्दिभ्सका विद्यार्थीलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोगसम्बन्धी सम्झौता नवीकरण गर्न नेपाल सकारात्मक रहेको बताए । कोरोना महामारीमा मालल्दिभ्स सरकारले २ लाख डोज खोप उपलब्ध गराएकामा पनि उनले मालदिभ्स सरकारलाई धन्यवाद दिए ।