close

हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो

हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो

Trulli
ADVERTISEMENT

मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् । 


हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । 
'मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौं', उनले भने । 

नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए । दैनिक नौ–दशवटा यार्सागुम्बा सङ्कलन गर्न सकिने उनले बताए । 


डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको उनी बताउछन् । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनले बताए । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए । रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्किएको उनको भनाइ छ । 

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् । 

विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । 

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।

विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म सङ्कलन गर्न दिने निर्णय भएको छ ।