close

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

Trulli
ADVERTISEMENT

महोत्तरी । बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी  बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिए ।

 

सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लिएका क्षेत्रीकै समूहबाट उपप्रमुख तारादेवी महतो र वडा नं १, ७, १३ र १४ मा वडाध्यक्षसमेत निर्वाचित भएका छन् । वडा नं १ बाट त अध्यक्ष तथा सदस्यसहित पाँचै स्वतन्त्र समूहका निर्वाचित भएका छन् ।

 

नवनिर्वाचित प्रमुख क्षत्रीले बर्दिबास अस्पतालको सेवालाई बढाउँदै प्रसूति सेवा प्रभावकारी बनाउने, गर्भवतीको नियमित स्वास्थ्य जाँच गराउने र अस्पतालमा सुत्केरी गराइँदा सरकारले दिँदै आएको यातायात खर्चमा थप एक हजार बढाएर उपलब्ध गराउने घोषणा पनि गरेको छ । सरकारले हिमाली, पहाडी र तराई जिल्लामा बसोबास गर्ने महिलाका लागि अस्पतालमा सुत्केरी गराइँदा क्रमशः तीन हजार, दुई हजार र एक हजार यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।

 

जिल्लामा नवनिर्वाचित नगरप्रमुख र गाउँपालिका अध्यक्षहरूले पदबहालीका क्रममा जनताका लागि सुविधा बढाउने घोषणाको लहर नै चलेको छ । यसै क्रममा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले आफ्नो दोस्रो कार्यकालको पदबहाली गर्दै आगलागी नियन्त्रण प्रयोजनका लागि दमकल किन्ने र छोरी शिक्षालाई थप प्रभावकारी बनाउन नगर क्षेत्रका विद्यालयमा अध्ययनरत ११ कक्षाका सबै छात्रालाई साइकल उपलब्ध गराउने घोषणा गरे । 

 

“मधेशमा गर्मीयाममा आगलागीका घटना बाक्लै हुँदै आएका छन्, जिल्लामा जलेश्वर नगरपालिकासँग मात्र दमकल छ, तसर्थ जिल्लाभरि नै सेवा दिन सकिने गरी दमकल किन्ने निर्णय गरेका छौँ”, नगरप्रमुख मण्डलको भनाइ छ । यसैगरी उच्च शिक्षामा छोरीको पहुँच बढाउन ११ कक्षाका छात्रालाई साइकल दिइने उनले बताए । यसअघि मटिहानीका कक्षा ८ देखि  १० सम्मका छात्राले मधेश प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत साइकल प्राप्त गरिसकेका छन् ।

 

जिल्लाभरि नै नवनिर्वाचित जनप्रतिनिधिले जनताका लागि जनाउँदै सुविधा घोषणा गरिनु सकारात्मक पक्ष भए पनि यस्तो घोषणापूर्व जनअपेक्षा, स्थानीय तहको आर्थिक सामथ्र्य र घोषणा गरिने विषयको प्रभावकारिताबारे गहन अध्ययन गरिन आवश्यक रहेको बुद्धिजीवीले औँल्याएका छन् ।