close

कहिले उड्ला त बलेवामा विमान (भिडियोसहित)

कहिले उड्ला त बलेवामा विमान (भिडियोसहित)

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङ जिल्लाको बलेवा विमानस्थल सञ्चालनका लागि कालोपत्रे भइसकेको छ । कालोपत्रे भएको तीन महिना पूरा भइसक्दा पनि विमानस्थल सञ्चालन सम्बन्धी केही निष्कर्ष निस्किन सकेको छैन । आइतबार विमानस्थल सञ्चालनका लागि विज्ञ टोली बलेवा पुगेर सरोकारवालासँग छलफल गरेको छ । छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले विमानस्थललाई अरू कुनै विकल्पमा राख्न नहुने भन्दै विमान सञ्चालनका लागि वातावरण तयार गरिनु पर्ने बताएका थिए । विमानस्थल सञ्चालनका विषयमा सुझाव संकलन र अवलोकनका लागि काठमाडौंबाट आएका विज्ञ टोली प्रमुख डाक्टर जनक शाहले विमानस्थल सञ्चालनका लागि तयार भएको हुँदा यहाँ छिट्टै नै विमान सञ्चालन हुनु पर्ने धारणा राखेका थिए ।

उनले विमानस्थल सञ्चालनका लागि राज्यले ठूलो लगानी गरिसकेको भन्दै यहाँ विमान सञ्चालन नभए लगानीको प्रतिफल पाउन नसक्ने बताए । ‘हामीले विमानस्थलमै पुगेर त्यसको अवलोकन गर्‍यौँ, कालोपत्रे भइसकेछ, रंगरोगन गरेर सिँगारिएको रहेछ, यसले विमान कतिबेला आउँछ भनेर कुरिरहेको छ,’ उनले भने ‘राज्यले यति ठूलो लगानी गरेको छ, अब यहाँ जहाज चलाउनै पर्छ, यदि चलेन भने लगानीको प्रतिफल शून्य हुन्छ ।’

बागलुङ नगरपालिका-१४ का वडाध्यक्ष चक्र बहादुर खत्रीले विमान सञ्चालनको विकल्प नभएको बताए । उनले अहिलेसम्म ठूलो लगानी भइसकेको भन्दै अब जहाज सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए । अध्यक्ष खत्रीले विमान सञ्चालनपछि यस क्षेत्रको मुहार फेरिने समेत बताए। उनले कालिगण्डकी करिडोर पनि अब छिट्टैनै कालोपत्रे हुने र बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्ने सडक सहज बन्ने भन्दै यात्रुको कमी नहुने बताए ।

‘ठूलो समस्या धावनमार्ग कच्ची हुँदा थियो, अब अहिले कालोपत्रे भएर चटक्क परेको छ, यहाँसम्म पुग्ने समस्या सडकको हो, कालिगण्डकी कोरिडोरको पनि छिट्टैनै कालोपत्रे हुने छ,’ उनले भने, ‘अब पहिलेको जस्ता समस्याहरू छैनन्, केही स–साना समस्याहरू छन्, ती सबै विस्तारै समाधान हुनेछन्, विमान सञ्चालनमा अब ढिलाई गर्नुहुँदैन ।’

अध्यक्ष खत्रीले विगतमा धेरै चुनौतिका बाबजुत विमान सञ्चालन भएको भन्दै अब त्यस किसिमका समस्याहरू कम हुँदै गएको र यस क्षेत्रका आम नागरिकले विमान सञ्चालनको प्रतीक्षा गरिरहेको बताए । उनले विमान सञ्चालनपछि बागलुङका पर्यटकीय क्षेत्रहरू आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिभराउ हुने र स्थानीयले रोजगारको अवसर पाउने बताए।

बागलुङ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले विगतमा भाडादर अस्वभाविक हुँदा नियमित सञ्चालन हुन नसकेको भन्दै अब भाडा समायोजन गर्ने र नियमित विमान सञ्चालनमा लाग्नुपर्नेमा जोड दिए । उनले विमान सञ्चालन हुन नसक्ने समस्या मध्ये भाडा नै बढी भएको भन्दै सबै पक्षले यसको समस्या समाधान गरे नियमित विमान सञ्चालन गर्नुपर्ने बताए ।

‘यस अगाडि विमान नियमित सञ्चालन नहुनुमा धेरै कारणहरू छन्, त्यस मध्ये भाडादर बढी हुनु पनि एक हो, भाडादर सुहाउँदो हुनुपर्छ, यस बारेमा सर्वसाधारणको गुनासो धेरै नै थियो,’अध्यक्ष पौडेलले भने, ‘धावनमार्ग पनि निकै राम्रो भएको छ, अब भाडा समायोजन गरौँ, सबै निकायलाई घच्घच्याऔँ र नियमित उडान सुरु गरौँ।’

२६ वर्षदेखि बन्द अवस्थाको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । धावनमार्ग कच्ची, यात्रु संख्या कम हुँदा धेरै समय सञ्चालन हुन सकेको थिएन । त्यस समय नगरपालिका ६० प्रतिसत रकमसम्म ब्यवहोरेर विमान संचालन गरेको थियो । विमानस्थल नजिकै रहेको नेपालकै सबैभन्दा ठूलो बन्जीजम्प द क्लिफ क्याफेका संचालक योगेश जोशीले छिट्टै विमानस्थल संचालन गर्नुपर्ने बताए । 

एसियाकै सबैभन्दा अग्लो पर्वतको कुश्मामा अवस्थित बञ्जीले बागलुङ्गको वाड नं १४ मै आफ्नो रेष्टुरेन्ट तथा अन्य संरचनाहरू संचालन गरीरहेको छ । यहाँ दैनिक रुपमा सयौको संख्यामा स्वदेशी तथा बिदेशी पर्यटकहरू अहिले हवाई सेवा नहुदाँ पोखरा हुदै स्थलमार्गवाट आउने गरेका छन् । 

त्यसै गरी हिन्दुहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि जानेहरूका लागि पनि यो विमानस्थल निकै लाभदायक हुने बागलुङ्ग नगरपालिकाका निवर्तमान नगरप्रमुख जनक पौडेलले बताए । उनले बलेवा विमानस्थल संचालनमा आए बागलुङ्गमै रहेका धार्मिक महत्वका शालीग्राम संग्रहालय, बिश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट लगायतका क्षेत्रमा प्रवद्धनमा टेवा पुग्ने बताए । उनले केन्द्र, प्रदेश र स्थानीय तह मिलेर भएर पनि तयार भएको विमानस्थल संचालनमा ल्याउनुपर्ने बताए । आफूहरूको पहलमा चिटिक्कको कालोपत्रे धावनमार्ग बनिसकेकाले अब नियमीत उडान गर्नुपर्ने माग राखे ।