close

बिहानै फोहोर उठ्यो, स्थानीयले फाल्न दिएनन्

बिहानै फोहोर उठ्यो, स्थानीयले फाल्न दिएनन्

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानरभित्र केही दिनदेखि थुप्रिएका फोहोर उठाउन थालिएको छ । 

महानगरपालिकाले आज (मंगलबार) बिहान ८ बजेदेखि फोहोर उठाउन सुरु गरेको हो । गत जेठ १४ गतेदेखि फोहोर उठेको थिएन ।

सोमबार आन्दोलनरत स्थानीयबासी, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमति भएपछि फोहोर उठाउन थालिएको हो ।

सहमति

सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका हुन् ।

सहमतिमा सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ । प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति समेत भएको छ ।

धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको छ ।

असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको छ । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको छ ।

साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि महानगरले गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको छ ।

स्थानीयले फोहोर फल्न दिएनन्

यसैबीच शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच सोमबार भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् ।

उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको महानगरका एक कर्मचारीले जानकारी दिए । आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयले बाटोमै रोकेका छन् ।