close

वीरगञ्जलाई भ्रष्टाचारमुक्त महानगर बनाउनेछु : नगरप्रमुख सिंह

वीरगञ्जलाई भ्रष्टाचारमुक्त महानगर बनाउनेछु : नगरप्रमुख सिंह

Trulli
ADVERTISEMENT

पर्सास्थित वीरगञ्ज महानगरपालिका मधेस प्रदेशको एक मात्र महानगरपालिलका हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यस महानगरको जनसंख्या दुई लाख ६८ हजार २७३ छ ।

प्रस्ततु छ, महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगरप्रमुख राजेशमान सिंहसँग गरिएको कुराकानीको समपादित अंश :

यहाँका मुख्य–मुख्य योजना र प्राथमिकता के–के छन् ?

वीरगञ्ज महानगरका योजना के-के छन् भन्दा पनि यहाँ  सुरुवाती चरणबाटै काम गर्नुपर्ने भएको छ । मैले महानगरको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँको सेवा प्रवाह, महानगरले लगाएको ठेक्का, सरसफाइ, फोहोर व्यवस्थापनलगायत क्षेत्र अस्तव्यस्त छ । 

तर, हामीले गर्नुपर्ने केही विशेष कामको सूची बनाएका छौँ । जुन हाम्रो प्रतिबद्धतापत्रमा देख्न सकिन्छ । हामी बोलेरभन्दा पनि काम गरेर देखाउनेमा विश्वास राख्छौँ । हामी एक महिनाभित्रै जनताले अनुभूत गर्नेगरी केही परिणाममुखी काम गरेर देखाउनेछौँ । चौतर्फी विकास मेरो मूल एजेण्डा हो, यस महानगरपालिकाको समृद्धि र विकासका लागि म प्रदेश सरकार, केन्द्रीय सरकार र विदेशी दातृ निकायसँग सहकार्य गरी महानगरपालिकालाई समृद्ध महानगरपालिका बनाउने मुख्य योजना छ । 

वीरगञ्ज देशकै आर्थिक विकासका टेवा दिने स्थान हो । यहाँका भावी योजना  के छन् ?

नेपालको आर्थिक विकासमा वीरगञ्जले हिजोदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको छ । यसमा निजी क्षेत्रको भूमिका उल्लेखनीय छ । त्यसैले निजी क्षेत्रको संरक्षण र संवद्र्धन गर्नु महानगरपालिको पनि दायित्व हो ।

यसका लागि प्रदेश र सङ्घीय कानुन नबाझिने गरी र नियमानुसार मिल्ने सहयोग गरेर यस क्षेत्रको आर्थिक विकासमा भूमिका निर्वाह गर्ने महानगरपालिकाको दायित्व रहनेछ । 

श्वेतपत्र जारी गर्ने निर्णय गर्नुभएछ । त्यसको आवश्यकता किन देख्नुभयो ?

काम सुरु गर्नुभन्दा पहिला वीरगञ्ज महानगरपालिकाको वर्तमान अवस्था आममहानगरवासीले थाहा पाउन जरुरी हुन्छ । हालम्म महानगरपालिकामा फिल्डमा भन्दा कागजमा बढी काम भएका छन् अर्थात् महानगरपालिकाको विकासका लागि भएका अधिकांश काम पारदर्शी छैनन् ।

श्वेतपत्रमा हालको अवस्था र त्यसको सुधारका लागि श्वेतपत्र जारी गर्ने तयारी गरेका छौँ । यसले आगामी दिनमा मेरो नेतृत्वमा भए गरेको कामलाई जनतालाई मूल्याङ्कन गर्न थप सजिलो हुनेछ ।
 

भौतिक पूर्वाधारको क्षेत्रमा यहाँको प्राथमिकताको योजनाहरू के–के छन् ?

सबैभन्दा पहिलो कुरा महानगरपालिकाभित्र सडकसञ्जाल विस्तार गर्ने र त्यसलाई स्तरीय बनाउनु हो । कुल ३२ वडा रहेको वीरगञ्ज महानगरपालिकाका सबै वडामा अझसम्म सडकसञ्जाल पुग्न सकेको छैन । त्यसैले सबै वडालाई सडकसञ्जालमा जोड्ने मेरो मुख्य लक्ष्य छ ।

त्यसपछि नाला, कल्भर्ट, पुलपुलेसालगायत अन्य आवश्यक भौतिक पूर्वाधारण निर्माणक काम अघि बढाइनेछ । व्यवस्थित सडकसञ्जालले महानगरपालिकाभित्रका अन्य विकास निर्माणका काम गर्न पनि सहज हुन्छ । 

शैक्षिक क्षेत्रको विकासको लागि के-के गर्नुहुन्छ ?

विशेषगरी गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथमिकता हो । शिक्षामा खेलवाड गर्न पाइँदैन, सामुदायिक विद्यालयमा पनि निजी विद्यालयसरह शैक्षिक गुणस्तर सुधार गर्ने मेरो योजना छ ।

शिक्षा क्षेत्रमा मूलरूपमा दरबन्दीको पनि समस्या छ । त्यसलाई हल गर्नका लागि हामी सबै विद्यालय र शिक्षकको विवरण सङ्कलन गर्छौँ । आवश्यकताको आधारमा बढी भएको स्थानबाट दरबन्दी कटौती तथा कम भएको स्थानमा थप गर्ने, यसका साथै शिक्षकलाई तालिम तथा विद्यार्थीलाई नैतिक शिक्षा दिएर विद्यालयमैत्री वातावरणको सिर्जना गर्ने हाम्रो योजना छ । वातावरण बनाइसकेपछि हामीले वीरगञ्जको शिक्षालाई प्राविधिक शिक्षातर्फ अगाडि बढाउनेछौँ ।

भएका विद्यालयमा पनि प्राविधिक कक्षा सञ्चालन गर्ने र नयाँ पूर्ण प्राविधिक विद्यालय स्थापना गर्ने भनेर हाम्रो प्रतिबद्धतापत्रमा समेत उल्लेख गरेका छौँ । त्यसलाई मूर्तरुप दिने गरेर हाम्रो काम अगाडि बढ्छ । निजी शैक्षिक संस्थालाई कानुनी दायरामा ल्याएर सहजीकरण गरिने योजना छ । 

स्वास्थ्य क्षेत्रको सुघारका लागि यहाँको योजना के छ ?

समग्ररूपमा महानगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतीलाई विज्ञहरूको छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ । महानगरपालिका क्षेत्रभित्र रहेको सरकारी वा निजी स्वास्थ्य संस्थालाई पनि आवश्यकताअनुसार नियमन गरिनेछ ।

महानगरपालिका फोहोरमैला व्यवस्थापन चुनौतीको रूपमा रहेको छ । यसलाई समाधान गर्ने योजना के छन् ?

फोहोर व्यवस्थापन हुन नसक्दा वीरगञ्ज बढी प्रदूषण पनि देखिएको छ । सबैभन्दा पहिला  २० औँ वर्षदेखि सफा हुन नसकेका ठूला नाला सफाइ तथा अन्य नाला पनि सफाइ गर्ने काम हामीले सुरुवात गरिसकेका छौँ । 

दोस्रो महत्वपूर्ण कुरा फोहर व्यवस्थापनको लागि यहाँका नागरिकले पनि उत्तिकै साथ दिन जरुरी छ । यसको पूर्वाधार विकासका लागि महानगरपालिकाले सहयोग गर्न तयार छ । हामीले सडक धेरै बढार्‍यौँ । अब फोहर व्यवस्थापन गर्न नजानेका अथवा अज्ञानता भएका नागरिकको दिमाग बढार्न जरुरी छ ।

सोचाइबाट फोहर बढार्न सकिएको खण्डमा धेरै हदसम्म फोहर आफैँ व्यवस्थापन हुने कुरा हो । विदेशी मुलुकहरूमा हेर्ने हो भने फोहर व्यवस्थापनमा राज्यले धेरै लगानी गरेको पाइँदैन । व्यवस्थापनमा बढी जोड दिएको पाइन्छ ।

वीरगञ्ज महानगरपालिकाको हकमा फोहर व्यवस्थापनको नाममा वार्षिक करिब  नौ करोडभन्दा बढी खर्च गरेको पाइन्छ । तर, सुधारको अवस्था छैन । यसअघिको नेतृत्वले पनि फोहर व्यवस्थापनबारे कुनै प्रभावकारी कदम चालेको पाइएन । त्यसकारण हामीले अहिले जारी गर्ने भनिएको श्वेतपत्रमा यी विषयलाई समेट्ने छौँ। त्यसपछि विज्ञहरूको राय लिएर नयाँ शिराबाट फोहर व्यवस्थापनको काम गरिनेछ ।

महानगरपालिका देखिएको सेवाप्रवाह ढिलाइसुस्ती र लापरवाहीलाई कसरी व्यवस्थापन गर्ने यहाँको योजना के छ ?

सबैभन्दा पहिलो कामका प्रकृति क्षमता र क्षमताअनुसार कर्मचारीहरूलाई दक्षता र सीपका आधारमा जिम्मेवारी बाँडफाँट गर्छु । वडासम्म दिन सकिने अधिकारलाई वडासम्म जनताको कामबिना लापरवाही बिनाझन्झिटलो बनाउने कोसिस गर्छु । यद्यपि सबै कर्मचारीलाई पनि खराब छन् भनेर म भन्दिनँ ।

तर, केही खराब प्रवृत्तिका कर्मचारीलाई एकपटक सुधार गर्ने मौका दिन्छु । सुधार नभए नियमानुसार कारबाही प्रक्रिया अघि बढाउँछु ।