close

काभ्रेका स्थानीय तह : योजना र बजेट निर्माणमा व्यस्त

काभ्रेका स्थानीय तह : योजना र बजेट निर्माणमा व्यस्त

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । यहाँका स्थानीय तह आगामी आर्थिक वर्ष २०७९/८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छन् । नवनिर्वाचित यहाँका जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजनातर्जुमा तथा स्थानीयस्तरमा भेला, गोष्ठी गरिरहेका छन् । 

केही पालिकाले भने नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडाध्यक्ष तथा वडासचिव लक्षित बजेट निर्माण प्रक्रियाका विषयमा जानकारी गराउन विज्ञ नै डाकेर गोष्ठीसमेत आयोजना गरेका छन् । नमोबुद्ध नगरपालिकाले गतसाता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल र स्थानीय विकासका विज्ञ विष्णुदत्त गौतमलाई योजना तथा बजेट निर्माणका विविध विषयमा प्रशिक्षण दिन लगाएको थियो । 

खनाल र गौतमले पालिकाका स्रोत, समस्या र चुनौती तथा चालू आर्थिक वर्षभित्रै गर्नुपर्ने कामका विषयमा जानकारी दिनुका साथै नागरिकको आम्दानीमा वृद्धि गर्नुपर्ने, भौगोलिक अवस्था, ऐतिहासिक सम्पदा, कृषियोग्य भूमिलगायतका जानकारी गराउँदै अहिलेदेखि नै योजनाबद्धरुपमा अघि बढ्ने हो भने पाँच वर्षमा स्थानीय तहको मुहार फेरिनेबारे जानकारी गराएको थियो । 

साथै उनीहरुले स्थानीय तहको राजस्व अधिकार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण, तीन तहका सरकारले उठाउन पाउने कर, त्यसको बाँडफाँट र परिचालनलगायतका विषयमा जानकारी दिए । 

नमोबुद्धका नगरप्रमुख कुन्साङ लामाले विकास देखिने र प्रभावकारी हुने खालका योजना ल्याउन वडाध्यक्षलाई आग्रह गरिएको बताए । “सबै वडाको समग्रमा विकास भएमात्रै नगरको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुआती वर्ष भएकाले दीर्घकालीन योजनाको खाका बनाउन लागेको छौँ”, उनले भने । 

संवैधानिक व्यवस्थाअनुसार यही असार १० गतेभित्र आगामी आवका लागि बजेट विनियोजन गरी प्रस्तुत गर्नुपर्ने भएकाले यहाँका स्थानीय तहलाई योजना छनोटसँगै बजेट निर्माणमा चटारो परेको हो । 

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका अधिकांश तहले असार १० गते नै आगामी आवका लागि बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् । बजेट निर्माणका लागि वडाबाट आएका योजनालाई प्राथमिकीकरण गर्दै कार्यान्वयनमा लैजाने धुलिखेल नगरप्रमुख अशोक व्याञ्जुले बताए । 

मङ्गलबारका लागि तय गरिएको बैठकमा सबै वडा अध्यक्ष, पालिकामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका राजनीतिक दल, शिक्षकका विभिन्न सङ्गठन, नागरिक समाजका अगुवा, बुद्धिजीवी, समाजसेवी, योजनाविद्, विभिन्न युवा क्लबलगायत सङ्घसंस्था तथा युवासँग सरोकार राख्ने व्यक्तिसमेतलाई सहभागीका लागि अनुरोध गरिएको छ । 

पाँचखाल नगरले आउँदो शुक्रबार प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्न नगरसभा सदस्यलाई निमन्त्रणा गरेको छ । नगरप्रमुख महेश खरेलका अनुसार ११औँ नगरसभामार्फत ‘पाँचखाल नगर, कृषि सहर’को नारालाई थप मजबुत बनाउन नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिनेछ । 
    
उक्त नगरले पाँच दिनको समयसीमा तोकर बुधबारसम्म ३० लाखसम्मको बजेट सिलिङभित्र रही योजना बनाई कार्यालयमा उपलब्ध गराउनसमेत सबै वडालाई पत्राचारसमेत गरेको छ ।