close

डुंगा प्रतियोगितामा चन्द्र र जीवन प्रथम

डुंगा प्रतियोगितामा चन्द्र र जीवन प्रथम

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा प्रथम भएका छन् । 

उनीहरूले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गरे । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोस्रो तथा नेपाल माझी उत्थान संघ, सिन्धुलीका दीपक माझी र साजन माझी (१ मिनेट ३३ सेकेन्ड) तेस्रो भए । 

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । रामेछापको मन्थलीस्थित सेलेघाटमा भएको प्रतियोगिताको डबल्समा नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जीतेन्द्र माझी र भेषबहादुर माझी पहिलो बने । 

उनीहरूले निर्धारित १२० मिटर दूरी १ मिनेट ५३ सेकेन्डमा पार गरे । नेपाल माझी उत्थान संघ, रामेछापका रामबाबु माझी, कुश्मान माझी, काले माझी र भरत माझी १ मिनेट ५९ सेकेन्डमा दोस्रो भए । तेस्रो स्थानका नेपाल माझी उत्थान संघ, रामेछापका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझीले २ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरे । 

पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाए । डुंगा प्रतियोगिताको सिंगल्समा २ जना र डबल्समा ४ जनाले खेल्न पाउने प्रावधान राखिएको थियो । 

मन्थली नगरपालिकाको सहयोग तथा नेपाल माझी उत्थान संघ, रामेछापको समन्वयमा भएको एकदिने प्रतियोगितामा १ सय खेलाडी सहभागी थिए । 

प्रतियोगिताको राखेप सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै पराम्परागत खेलको जर्गेना गर्ने उद्देश्यले राखेपले प्रतियोगिता आयोजना गरेको बताए । विजेतालाई मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठलगायतले पुरस्कृत गरेका छन् ।