close

डुम्रे-बेसीसहर र बेसीसहर-चामे सडक अवरुद्ध

डुम्रे-बेसीसहर र बेसीसहर-चामे सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

लमजुङ । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेसीसहर सडक र बेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे बेसीसहर सडकखण्डअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गामाटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ ।

सडक अवरुद्ध भएपछि बेसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेसीसहर आउने सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडकखण्डस्थित बेसीसहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ ।

यस स्थानमा बर्सेनि पटकपटक पहिराका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ । डुम्रे–बेसीसहर सडक ४२ किलोमिटर रहेको छ भने बेसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ ।