close

अविरल वर्षासँगै विभिन्न सडक खण्डमा पहिरो, यातायात अवरुद्ध

अविरल वर्षासँगै विभिन्न सडक खण्डमा पहिरो, यातायात अवरुद्ध

Trulli
ADVERTISEMENT

काठमाडौं । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाट बुर्तिबाङ र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध भएको छ ।

लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षाले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ । 

यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ । बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

आँबुखैरेनी–मुग्लिन खण्ड अवरुद्ध

मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । 

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको खड्काले बताए । 

डुम्रे–बेसीसहर सडक अवरुद्ध 

अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । 

उनले भने, “वैकल्पिकरूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला–ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । त्यहाँ एक्साभेक्टर लगेर ढुङ्गा फुटाएर मात्र सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ ।

सवारीसाधन सञ्चालन हुन नसक्दा समयमै गन्तव्यमा पुग्नुपर्ने यात्रु बढी मर्कामा परेका छन् । यहाँ असार लागेयता मात्र सातपटक बाढी पहिराले सडक अवरुद्ध बनाइसकेको छ ।

मङ्गलबार बाढी–पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर साढे १० बजेदेखि सञ्चालनमा आएको उक्त सडकमा पुनः अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर सडक ४२ किलोमिटर लामो छ । 

नवलपुर खण्ड अवरुद्ध

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

मङ्गलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए ।