close

होमस्टेबाट जीविकोपार्जनमा सहयोग

होमस्टेबाट जीविकोपार्जनमा सहयोग

Trulli
ADVERTISEMENT

सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् । सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि व्यवसाय फस्टाउन थालेको हो । 

यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होमस्टेबाट हुने आम्दानी पनि बढेको हो । हाल गाउँपालिकाले होमस्टेको व्यवस्थापनका लागि कार्यविधि समेत बनाउन लागेको छ । 

होमस्टेमा पाहुनालाई न्यानो सत्कार, पाहुनाको रोजाइअनुसारका अर्गानिक तरकारीसहित मिष्ठान्न भोजन खुवाइने भएकाले होमस्टेमा बस्ने पर्यटक बढेको थाङपालकोट मानेखर्कका कान्छी तामाङले बताइन्। 

उनका अनुसार ३२ वटा होमस्टे रहेको गाउँपालिकामा कुनै दिन ८० जनाभन्दा बढी पाहुना पुग्छन् । पर्यटकलाई स्थानीय स्तरमा उत्पादित अर्गानिक तरकारी तथा खाद्यान्नका मिष्ठान्न भोजन खुवाइने उनको भनाइ छ ।

विश्वभरी फैलिएको कोरोना महामारीका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा लामो समय बन्द जस्तै रहेको होमस्टे व्यवसाय फेरि तङ्ग्रिन थालेको छ। होमस्टेबाट हुने आम्दानीले परिवारको खर्च टार्न निकै सहज भएको पाँचपोखरी थाङपाल–४ मानेखर्कका मानबहादुर तामाङ बताउँछन्।

विश्वको नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरी कुण्डसहित आमायाङ्ग्री, ढुक्पु, डुखाङ, हवेली, ड्रागन गुफा, नागीथामडाँडा, रैथानेश्वरी जस्ता पर्यटकीयस्थलको प्रवद्र्धनसँगै पर्यटकको रोजाइको गन्तव्य बनाउनका लागि पालिकाले विभिन्न योजना ल्याएको छ । 

पालिकाले ‘पाहुना हाम्रो साथी’ अभियानसँगै होमस्टेलाई प्रोत्साहन गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए।
 
गाउँपालिकाभित्र फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथनजस्ता जिल्ला तथा राष्ट्रियस्तरका खेलकुदका प्रतियोगिता आयोजना हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बाक्लिँदै गएको छ । जसकारण व्यवसायमा चहलपहल बढेको छ भने पर्यटीयस्थलको प्रचारप्रसारसँगै होमस्टे सेवाबाट स्थानीयको जीविकोपार्जन पनि राम्रो हुन थालेको छ । 

पालिकाले होमस्टे सञ्चालनबारे गत सोमबारदेखि बुधबारसम्म तालिम दिएपछि उत्साह बढेको स्थानीय होमस्टे सञ्चालक दोकदोक तामाङ बताउँछन्। उनले स्थानीय उत्पादनबाट धेरै परिकार बनाउन सिकेको भन्दै अब त्यसलाई व्यवहारमा उर्तार्ने बताए।
 

गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले होमस्टेसम्बन्धी तालिम अर्को पटक पनि आयोजना गर्ने बताइन्। होमस्टे सञ्चालकलाई तालिममा सहयोग गरेको संस्था ग्रामीण समाजकल्याण सङ्घ (आर्सो) नेपालका परियोजना संयोजक हर्क तामाङले पाँचपोखरीमा होटल र होमस्टे व्यवस्थापन प्रवद्धन गर्नसके आयस्रोत बढ्ने बताउँछन्। 

यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा होमस्टेबाट गुणस्तरीय सेवा दिन सके पर्यटकको सङ्ख्या बढ्नुका साथै गाउँपालिको आम्दानी पनि बढ्ने गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेको भनाइ छ ।