close

तीन कार्यालय पुनःस्थापना गर्न नरैनापुरकाे माग

तीन कार्यालय पुनःस्थापना गर्न नरैनापुरकाे माग

Trulli
ADVERTISEMENT

बाँके । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।  

हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले सङ्घीयताको मर्म र भावनाअनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताए । 
    
नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज भएकाे उनले सुनाए । 'नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने सङ्घीयताको मर्म र भावनाअनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ', उनले भने, 'इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पूर्वाधार भवनको व्यवस्था गाउँपालिकाले गर्नेछ ।' 

प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर–५ का अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडा नं १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामबाट ५५ किमीको दूरीमा रहेको सुइया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । 
    
सशस्त्र द्वन्द्वका बेला विस्थपित इलाका प्रशासन कार्यालय बीचमा केही समयका लागि स्थापना भए पनि पछि पुनः सदरमुकाममै विस्थापित भएको थियो । नागरिकताका लागि अझै पनि त्यहाँका नागरिकले दुई दिनसम्म नेपालगञ्ज बस्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको स्थापनासँगै अहिले सडक, बिजुलीलगायतको व्यवस्था भइसक्दा समेत यी कार्यालय स्थापना नहुनुमा स्थानीयवासीले दुःख व्यक्त गरेका छन् ।