close

सकुम्बासीका पीडा: पहिले बस भने, अहिले हट भन्छन्

सकुम्बासीका पीडा: पहिले बस भने, अहिले हट भन्छन्

Trulli
ADVERTISEMENT

दाङ। शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उनको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमति गरेको थियो । 

सहमति पछि परियार त्यहाँ घर बनाएर बसे। अहिलेसम्म पनि उनको नाममा अन्यत्र जग्गा छैन । तर अहिले उनलाई जग्गा खाली गर्न भनेर वन समूहले ताकेता गर्दै आएको छ । परियारसहित सात सुकुम्बासी परिवार उक्त सामुदायिक वनको जग्गामा बस्दै आएका छन् । त्यहाँ केही गैरसुकुम्बासी पनि बस्दै आएका छन् । उनीहरू सबैलाई वन समिति तथा स्थानीयवासीले पटक–पटक घरटहरा हटाउन दबाब दिँदै आएका छन् । 

‘पहिला बस्न अनुमति दिए। अहिले हट्न वन समूह र स्थानीयवासीले दबाब दिँदै आएका छन्’, उनले भने। केही दिनअघि आफूले लगाएको तोरीसमेत नष्ट गरेको उनले गुनासो पोखे। 

परियारसहित त्यहाँ जितबहादुर विक, मोती नेपाली, वसन्ती परियार, चन्द्रबहादुर सुनार, भीमबहादुर दमाइ र सुन्तली विक वस्दै आएका छन् । डिभिजन वन कार्यालय श्रीगाउँले गत भदौ २१ गते सूचना प्रकाशन गरी सात दिनभित्र टहरा हटाउन उनीहरुलाई निर्देशन दिएको छ । बल प्रयोग गरेरै भए पनि टहरा हटाइने सूचनामा उल्लेख छ । 

पीडितले निवेदन दिएपछि उच्च अदालत तुलसीपुरले अल्पकालीन अन्तरिम आदेश दिँदै वन कार्यालयको सूचना कार्यान्वयन नगर्नू भनेको छ । राष्ट्रिय भूमि आयोगले पनि वैकल्पिक व्यवस्था नहुँदासम्म नहटाउन वन कार्यालयलाई अनुरोध गरेको छ । ‘जग्गा छैन । बूढो पनि भइयो । यहाँबाट अन्यत्र जानसक्ने अवस्था छैन’, सुकुम्बासी चन्द्रबहादुर सुनारले भने। 

वन समितिका अध्यक्ष प्रताप दाहालले भने आफूहरूले सुकुम्बासीलाई उठाउन नखोजेको बताए । ‘उहाँहरूको व्यवस्थापन सरकारले गर्छ’, उनले भने।