close

च्याउखेतीबाट मनग्य आम्दानी

च्याउखेतीबाट मनग्य आम्दानी

Trulli
ADVERTISEMENT

दाङ । घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीको दैनिकी च्याउको स्याहारसुसार गर्दैमा वित्छ । उनी बिहानदेखि बेलुकासम्म च्याउँ बारीमै काम गर्छन् । अहिले  च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेको उनी बताउँछन् । 

सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका थिए । चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन्। 

छ प्याकेट च्याउको बिउबाट सुरु भएको व्यवसायमार्फत् अहिले वार्षिक रु १० देखि १२ लाखको च्याउ उत्पादन गर्दै आएका छन् । तत्कालीन समयमा उनले दुई हजार पाँच सय सय मात्रै लगानी गरेकाे सुनाउँछन् । 

'विगत १७ वर्षदेखि म निरन्तररुपमा यही पेसामा छु', उनले भने, 'यसबाट राम्रो आम्दानी भएको छ ।' करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए । 

उनले दैनिक करिब ४०÷५० केजी बराबरको च्याउ उत्पादन हुने उनले बताए । उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने उनको भनाइ छ । यसअघि रोल्पा, प्यूठान, बुटवललगायतका ठाउँमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसरलगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ । 

च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अग्र्यानिक च्याउ उत्पादन गर्ने गरेको बताए ।  च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायी समस्यामा परेको उनले गुनासो गरे । 

चौधरीले काठमाडौँको कालिमाटीबाट च्याउको बिउ ल्याउँछन् । उत्पादन भएको च्याउ बिक्री नभए सुकुटी बनाएर बिक्री गर्ने गरेको उनले बताए । च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिनसमेत ल्याएका छन् । सुकुटी बनाएको च्याउ प्रतिकेजी रु दुई हजारसम्म बिक्री हुने गरेको चौधरीले बताए । 

'च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिक्री भएन भने सुकुटी बनाउने गरेको छु', चौधरीले भने 'च्याउ प्रतिकेजी रु एक ९० देखि दुई सयसम्म बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गर्दछ ।' 

उनका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ । गत असोजमा परेको वर्षाका कारण रु एक लाख बरावरको घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । लगातार परेको पानीका कारण बिक्री गर्न नपाएकाले कुहिएर गएको बताउँछन्।

अझ व्यवसायलाई फराकिलो बनाउनका लागि हालसम्म कहिकतैबाट आफूले अनुदान पाए सहज हुने बताए । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो गरे ।