कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ८ नौखरीका भावना चौधरी नयाँ पिँढीका युवतीलाई थारु समुदायको परम्परागत पहिरन लेहङ्गा–चोली बनाउने सीप सिकाउने कार्यमा लागेकी छिन्। बुढापाकाबाट सीप सिकेर चौधरीले नयाँ पुस्ताका युवतीलाई लेहङ्गा– चोली सिउने, बुट्टा भर्ने सीप सिकाउने कार्यमा लागेकी हुन्।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र मुक्तकमैंया महिला विकासमञ्च कैलालीको सहयोगमा २३ जना युवती ३५ दिने लेहङ्गा चोली बनाउने तालिममा संलग्न भएका छन् । केन्द्रले प्रशिक्षक र मञ्चले लेहंगा चोली बनाउन आवश्यक पर्ने औजार, सिलाइ मेसिन र कपडाको व्यवस्था गरेको छ । लेहङ्गा– चोलीको बजार माग उच्च भएकाले बेरोजगार युवतीलाई स्वरोजगार बनाउने र पूर्खौँदेखि चलनचल्तीमा आएको पहिरन जोगाउन मद्दत पुग्ने भएकाले युवतीलाई तालिम दिन थालिएको भावनाले बताइन्।
‘धेरैले बुढापाकाबाट सीप सिकेर लेहङ्गा– चोली बनाउने कार्य गर्दै आएका छन्’ स्थानीय तालिमका आयोजक भागिराम चौधरीले भने, ‘बजारमा सहजै बिक्री हुने हिसाबले परिस्कृत गरेर पहिरन बनाउनका लागि सीप सिकाउने कार्यमा लागेका छौँ ।’ स्थानीय बजारदेखि महेन्द्रनगर, धनगढी, काठमाडौँंसम्म लेहङ्गा– चोलीको माग रहेको उनले बताए। उनका अनुसार पहिला आजभोलि जस्तो कपडा सिउने मेसिनको प्रचलन थिएनन । त्यसैले सबै कपडा हातैले सियो धागोको मद्दले सिउने गरिन्थ्यो । एकै जोडी लेहङ्गा चोली बनाउन १० देखि १५ दिन लाग्ने गर्दथ्यो ।
त्यो कार्य फुसद्को समय मात्रै हुने गर्दथ्यो । आजभोलि कपडा सिउनका लागि मेसिनको प्रयोग गरिन्छ । कपडा सिउनका लागि केही घण्टा मात्रै लाग्ने गरेको छ । लेहङ्गा चोलीमा बुट्टा भर्ने, सितारा राख्ने, लेस अर्सा राख्ने कार्यँंगै ड्राफ्ट तयार गर्ने कार्य सहज रुपमा हुने गरेको छ ।
एकजोर लेहङ्गा, चोली बनाउन दुई देखि तीन दिनसम्म लाग्ने गरेको छ । एक जोडी तयार गर्नका लागि रु तीन हजारदेखि पाँच हजारसम्म खर्च लाग्ने गरेको छ ।
बजारमा लेहङ्गा– चोली रु सात हजार देखि रु १० हजार सम्ममा बिक्री हुने गरेको तालिममा सहभागी प्रमिला चौधरीले बताइन्। ‘लेहङ्गा चोली बनाउन आवश्यक कपडा, सितारालगायत भारतबाट मगाउनुपर्ने हुन्छ’ उनी भन्छिन्, ‘त्यसैले एक जोर बनाउनै धेरै खर्च आउछ ।’
लेहङ्गा, चोली बनाउने कार्यबाट गतिलो आम्दानी हुने गरेको जानकारी पाइएपछि तालिममा सहभागी भएको सुनकुमारी चौधरीले बताइन्। ‘लेहङ्गामा बुट्टा भर्ने, ड्राफ्ट तयार गर्ने कार्य तालिमका क्रममा सिकेको छु। सीपलाई निर्खानका लागि सीप सिकेका महिला कहाँ गएर सिक्न थालेको छु । यस कार्यका लागि घरपरिवारको सहयोग समेत पाएको छु ।’ उनले भनिन्।
थारु समुदायका महिलाले चाडपर्वमा विशेष रुपमा पहिरने लेहङ्गा– चोलीको प्रयोग हाल चलचित्र, म्युजिक भिडियो लगायतमा हुन थालेपछि यसको माग बढदो रुपमा रहेको छ । लेहङ्गा– चोलीको माग बढन थालेपछि यसलाई व्यावसायिक बनाउनका लागि थारु युवती अगाडि सर्न थालेका छन् । लेहङ्गा– चोली पहिरनेमा थारु युवतीसँगै अन्य समुदायका महिला पनि अग्रसर हुन थालेका छन् ।
सीप सिकेर लेहङ्गा– चोली बनाउन कार्यलाई व्यावसायिक रुपमा अगाडि बढाउने मीना चौधरीले बताइन्। ‘सीप सिक्नेमा सबैजना मुक्तकमैंया परिवारका रहेका छौंँ’ उनले भनिन्, ‘निःशुल्क रुपमा सीप सिकाउने कार्य जसरी गरिदिएको छ। त्यसैगरी व्यवसायलाई अगाडि बढाउनका लागि आवश्यक पुजीको व्यवस्था मिलाइ दिनका लागि दातृ निकायलाई गुहार्दै छौँं। अश्वासन पाएका छौँ। पुँजी पाएपछि सामूहिक र एकल रुपमा पनि यस कार्यलाई अगाडि बढाउँछौँ ।’