close

लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान

लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान

Trulli
ADVERTISEMENT

झापा। प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ ।

लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय तह स्तरीय समन्वय समिति गठन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा सो अभियान सञ्चालन गरिएको अभियानका झापा संयोजक सन्देश रिजालले बताए।

उनका अनुसार स्थानीय पालिकामध्ये मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकामा कार्यक्रम सञ्चालनका लागि नगरप्रमुखको अध्यक्षतामा समिति निर्माण भइसकेको हो । मन्त्रालयले लागुऔषध प्रयोगकर्ता र कारोबार बढी हुने स्थानको पहिचान गरी धमाधम समिति निर्माण गरिरहेको उनले बताए।

नगरस्तरीय समितिमा उपप्रमुख सदस्य, लागुऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने संस्था, पत्रकार, नेपाल स्काउटबाट एक–एक जना सदस्य रहने र पालिकाको शिक्षा शाखा प्रमुख सदस्यसचिव रहने अभियानको कार्यविधि २०७९ मा उल्लेख छ ।

नगरस्तरमा बनाइएका समितिले विद्यालयमा पढ्दै गरेका किशोरावस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाउँछ। जसले लागुऔषध तथा विपद् व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रममार्फत् विद्यार्थीहरूमा शैक्षिक जनचेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्न समन्वय गर्ने उनको भनाइ छ ।

नगरमा नगरप्रमुखको अध्यक्षतामा निर्माण भएको समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक तहका ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराउन आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए। 

संयोजक रिजालले कार्यक्रमको प्रभावकारिता तथा गुणस्तरीयताका लागि मन्त्रालयको समन्वयमा जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा जिल्ला अनुगमन समिति निर्माण गरिसकेको बताए। 

जिल्ला अनुगमन समितिमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीको जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, जिल्ला स्काउट, शिक्षा विकास तथा समन्वय एकाइको प्रतिनिधि, प्याब्सन, एनप्याब्सन, हिसानका एक–एक जना प्रतिनिधि सदस्य र जिल्ला संयोजक सदस्यसचिव रहने कार्यविधिमा व्यवस्था छ । सोहीअनुरुप नै जिल्ला समिति गठन भएको उनको भनाइ छ ।

यसैगरी संयोजक सन्देश रिजालले जिल्लाको बुद्धशान्ति गाउँपालिका, दमक नगरपालिका र अर्जुनधारा नगरपालिकामा समेत समिति गठन गरी काम गर्ने बताए।