पर्सा । वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र)बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।
कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिए ।
अहिले महानगरको पाँच स्थानमा स्थापना गरिएको सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने र अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने तयारी भएको उनले बताए । यसका लागि महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको जनाएको छ ।
सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि महानगरपालिकाको तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरेको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ ।
गत २०७९ भदौ महिनादेखि सुरु भएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत हालसम्म १० हजार दुई सय ३३ जनाले बहिरङग सेवामा स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ । महानगरपालिकाको १२ वटा वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत कूल १० हजार आठ सय ८५ जनाले जाँचका लागि नाम दत्र्ता गराएकोमा छ हजार चार सय २१ महिला र तीन हजार आठ सय १२ पुरुष गरी १० हजार दुई सय ३३ जनाले बहिरङ्ग सेवामा स्वास्थ्यपरीक्षण गराएको उनले बताए ।
त्यस्तै सो कार्यक्रममा चार सय ५३ जनाले युएसजी सेवा, इसिजी सेवा ६७ जनाले र ल्याब परीक्षणमा दुई हजार एक सय ७२ जनाले सेवा लिएका छन् । जाँच गराएकामध्ये २९ महिला र १६ पुरुष गरी ४५ जनालाई थप उपचारका लागि सिफारिस गरिएको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ । ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ मा तीन विशेषज्ञ डाक्टरसहित नर्स, अनमी र एचए एक÷एक, तीन अहेब र दुई ‘ल्याब एसिस्टेन्ट’ परिचालन गरिएको थियो ।