close

आप्रवासी परिवारलाई वित्तीय साक्षरता तथा मनोपरामर्श तालिम

आप्रवासी परिवारलाई वित्तीय साक्षरता तथा मनोपरामर्श तालिम

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवलमा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बुटवल उपमहानगरपालिकाको नेतृत्वमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो । 

तालिममा सहभागी १ सय १० जनालाई मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रमाणपत्र हस्तान्तरण गरे । 

प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले तालिममा सिकेका कुरा व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिए । उनले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित बनाउँदै वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिटान्सलाई फजुल खर्चमा प्रयोग नगरी रोजगार सिर्जना र उत्पादनमूलक काममा लगाउन आग्रह गरे । 

उपप्रमुख सावित्रादेवी अर्यालले वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भविष्यबारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका विषयमा लिएको तालिमको उपयोग गर्न सुझाव दिइन् । 

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र वैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा र मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको बताए। ्

वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरी भविष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको रोजगार संयोजक अरविन्द पाण्डेले बताए ।