close

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको शिक्षण सुधारका लागि शैक्षिक विधिमा थप परिस्कृत गर्न प्रविधियुक्त शिक्षण विधि अपनाइएको जनाइएको छ । 

स्थानीय तह तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिमूलक संस्थाले उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोग कार्यक्रम ९लर्न०मार्फत अपाङ्गता भएका बालबालिका केन्द्रित समावेशी शिक्षालाई प्रवद्र्धनका लागि प्रविधियुक्त शिक्षणमा जोड दिइएको हो । सिकाइको समावेशी ढाँचामा आधारित शैक्षिक विधिको विकास र विस्तार गर्दै विद्यमान पहुँचयुक्त शैक्षिक स्रोतबाट समान उपलब्धि हासिल गर्न सघाउने विश्वासका साथ प्रविधियुक्त शिक्षण लागू गरिएको हो । 


कार्यक्रमअन्तर्गत हाल काभ्रेपलाञ्चोकको पाँच स्थानीय तहमा रहेका अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने विद्यालयका यस्तो सिकाइ विधि अपनाइएको हो ।

बनेपास्थित काभ्रे बहिरा माध्यमिक विद्यालयको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले प्रविधियुक्त शिक्षण विधिले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा निकै सहजता प्रदान गरेको बताए । उनका अनुसार कार्यक्रमबाट प्राप्त टेलिभिजन, ट्याब, विभिन्न पाठ्यक्रमका एप तथा विविध शैक्षिक सामग्रीबाट अपाङ्गताअनुसार शिक्षण गरिँदै आइएको छ । 

'कार्यक्रमले शिक्षकलाई तालिम दिएपछि शिक्षणमा थप सहजता भएको छ भने अपाङ्गता भएका विद्यार्थी रुचिपूर्वक अध्ययनमा ध्यान दिएका छन्', नकर्मीले भने । 

प्रविधियुक्त शिक्षण विधिले बौद्धिक अपाङ्गता भएका बालबालिकाको बानी–व्यवहारमा केही मात्रामा परिवर्तन हुँदै गएको आदर्श बाल विकास केन्द्र (बौद्धिक अपाङ्गता विशेष स्कुल)को प्रधानाध्यापक मैया वैद्यले बताए। उनले भने, 'डिस्प्लेमार्फत अध्ययन प्रकृतिका, हाँस्य र खेलजन्य सामग्रीको प्रस्तुतिले उनीहरूको एकोहोरोपन केही कम हुँदै गएको पाएका छौँ ।' उनका अनुसार विद्यालयमा प्रदान गरिएका सामग्रीले विद्यार्थीको आक्रामक शैलीलाई नियन्त्रण गर्न सहयोगी भएको छ । केन्द्रमा बौद्धिक अपाङ्गता भएका ३८ बालबालिका छन् । 

काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरका अपाङ्गता बालबालिका भएका विद्यालयका कार्यक्रम लागू गरिएको हो । लक्षित विद्यालयका सम्पूर्ण बालबालिकाका र अपाङ्गता भएका शिक्षकमा समेत कार्यक्रमले समेटेको छ । 

बनेपा नगरपालिका शिक्षा शाखाले आफ्ना क्षेत्रमा कार्यक्रम सञ्चालित विद्यालयमा इन्टरनेट सुविधा तथा दुई विद्यालयमा विज्ञान प्रविधि ल्याब व्यवस्थापन गरेको छ । शाखा प्रमुख शिवराज त्रिपाठीले नगरभित्रका विद्यालयमा सञ्चालित उक्त कार्यक्रमलाई निरन्तरता दिई अन्य विद्यालयमा लागू गर्न प्रक्रिया थालिने बताए। 

त्रिपाठीका अनुसार कार्यक्रम सञ्चालनपश्चात अपाङगता भएका बालबालिकाको पढाइ क्षमतामा सुधारसँगै त्यस शिक्षणमा शिक्षकको क्षमता अभिवृद्धि हुँदै गएको छ । 'शिक्षकको शिक्षण क्षमता सुधार हुनु भनेको आउने अपाङ्गता भएका बालबालिकाको शैक्षिक भविष्यलाई सफल बनाउनु हो', त्रिपाठीले भने। उनले कम आर्थिक व्यवस्थापनले समेत अपाङ्गता भएका बालबालिकाको शिक्षण सुधार गर्न सकिने भएकाले अन्य स्थानीय तहलाई अनुशरण गर्न आग्रह गरे।  

कार्यक्रम बागमती प्रदेशको चार जिल्लामा लागू गरिएको छ । जसअन्तर्गत काभ्रेपलाञ्चोकसहित काठमाडौँको सात नगरपालिका, ललितपुरको एक उपमहागरपालिका र एक नपा र धादिङको एक नपा र दुई गाउँपालिका छन् । 

कार्यक्रममार्फत पाँच सय ८१ अपाङ्गता भएका बालबालिका, छ हजार दुई सय ९५ प्रारम्भिक तहका बालबालिका, ४९ विद्यालय र ९६ शिक्षक लाभान्वित भएको कार्यक्रम संयोजक दुर्गा कार्कीले जानकारी दिए ।