close

सिर्जनात्मक सहर बनाउन महानगरले छान्याे चलचित्र विधा

सिर्जनात्मक सहर बनाउन महानगरले छान्याे चलचित्र विधा

Trulli
ADVERTISEMENT

काठमाडौँ । रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) ले शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधामध्ये महानगरले चलचित्र विधालाई छानेको हो  । 

‘यी सबै विधा महत्वपूर्ण र काठमाडौँसँग सम्बन्धित छन् । तीमध्ये एउटा मात्र छान्नु पर्दा हामीले चलचित्र विधालाई छान्यौँ,’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भनिन्, ‘अन्य विधा छान्दा एउटै क्षेत्रमा मात्र सीमित हुनु पर्ने भयो । चलचित्रबाट सबै विधामा काम गर्न सकिन्छ ।’

दिगो सहरी विकासका लागि अन्तरराष्ट्रिय सहयोगका विषयमा कुरा गर्दै उपप्रमुख डंगोलले, चलचित्र विधाबाट विषयको प्रबर्धन सँगै तत्काल अवस्थाको अभिलेख प्राप्त हुने उल्लेख गरिन् । छानिएको बिषयमा सरोकारवालाबाट पृष्ठपोषण लिन शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सम्बद्ध क्षेत्र र अधिकारीबाट प्राप्त सुझावलाई विश्लेषण गरेर महानगरले उचित नीति निर्माण गर्ने बताइन्  ।

मौलिकतालाई प्रवर्धन गर्ने काम प्रशंसायोग्य छ । कार्यशालामा बोल्दै बागमती प्रदेश सभा सदस्य शैलेश बज्राचार्यले  प्रवर्धनात्मक कार्यक्रमको दिगोपनाका लागि संरक्षणात्मक कार्यक्रम सँगै लैजानु पर्ने बताए  । सम्पदा बनाउने मानिसहरु विस्थापित भइरहेको अवस्थाप्रति संकेत गर्दै उनले भने, 'पैसा तिरेर जात्रा, पर्व, पूजाआजा तथा सामाजिक सांस्कृतिक कार्यक्रम चलाउनु पर्ने अवस्था आएको छ । अमूर्त चलन चलाउने मानिसहरुलाई विस्थापित हुनबाट जोगाऔँ ।' उनीहरुका क्रियाकलापले अमूर्त सम्पदा पनि जोगिन्छन् । त्यसबाट मूर्त सम्पदा पनि जीवन्त हुने विश्वास उनकाे छ ।


 कार्यशालामा नेपालका लागि युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले चलचित्रको विधाबाट काठमाडौँलाई रचनात्मक विभिन्न कोणबाट हेर्न सकिने उल्लेख गरे ।

'रचनात्मक सहरमा आवद्ध हुन पालिकाबाट निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना हुन्छ । यसबाट सरोकारवालाको पहिचान गरिन्छ । सरोकारवाला बिच परामर्श समूह निर्माण गरिन्छ । विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कन लगायत काम गरिन्छ,' उनले भने । 


कार्यशालामा सरोकारवाला प्रतिनिधिहरुले काठमाडौँ पूर्खाकै पालादेखि रचनात्मक सहर भएको उल्लेख गरे । काठमाडौँको जनजीवन, यहाँको भूगोल, बस्ती र सांस्कृतिक सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रुचीकर कथाहरु छन् । भेषभुषा छ । खानपान छ । काठमाडौँ सहर भन्नेवित्तिकै मनमा आउने पहिलो चित्र यही हो । कार्यक्रमका सहभागीहरुको धारणा थियो । ४ बर्षे कार्ययोजना र रणनीतिको मस्यौदा तयार पार्नुपर्छ । विषयसँग सम्बन्धित राष्ट्रिय व्यवसायिक संघहरुबाट समर्थन प्राप्त गरेपछि यो प्रस्ताव युनेस्कोको राष्ट्रिय आयोगबाट अनुमोदन हुन्छ । 

फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाईलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् । 


यसबाट सहरहरुलाई अन्तरराष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ । लक्ष्यका विषयमा जानकारी दिँदै रचनात्मक सांस्कृतिक उद्योगका कार्यक्रम संयोजक सरोज कुशवाहाले भने, 'कार्यशालाबाट महत्वपूर्ण सुझाव प्राप्त भएका छन् । कार्यशालाको सृङ्खलाबाट प्राप्त भएका सुझावलाई समेटेर रणनीति तयार पार्नेछौँ ।' 

अहिले यस सञ्जालमा विश्वभरका ३ सय वटा सहर जोडिएका छन् । यसमा संस्कृति र रचनात्मकतालाई दिगो सहरी विकासको रणनीतिका रुपमा लिने गरिन्छ ।  दक्षिण एशियाली मुलुकहरुमध्ये भारतको जयपुर र श्रीनगर शिल्प र लोक कलाको सहर, वाराणसी र चेन्नई संगीतको सहर, लाहोर साहित्यको सहर र मुम्बई चलचित्रको सहरका रुपमा विकास हुँदैछन् ।