close

स्वास्थ्य प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न एनआइसीसँग महानगरको सम्झौता

स्वास्थ्य प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न एनआइसीसँग महानगरको सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौँ । स्वास्थ्य  प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआईसी बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरका वडा नं  ५, ७, ८, १५ र २६ गरी ५ वटा स्वास्थ्य  प्रर्वद्धन  केन्द्र, हरेकमा ४ जना जनशक्ति नियुक्त हुनेछन् ।

यसरी नियुक्त हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब बैङ्कले व्यहार्ने गरी समझदारी भएको हो । उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको समझदारीमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे । 

केन्द्रमा महानगरले आठौँ तहको मेडिकल अफिसर, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त गर्नेछ । उनीहरुले प्राप्त गर्ने तलब नेपाल सरकारको प्रचलित स्केलबमोजिमको हुनेछ । 


सहमति पत्रका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले सहयोग गर्ने भएकोले सहकार्य गरिएको बताए । त्यस क्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले, महानगरका सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा रुपान्तरण गर्न सहकार्य थालिएको बताए । 

सहरी स्वास्थ्य क्लिनिकलाई प्रवर्धन केन्द्रमा रुपान्तरणसँगै स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको भनाइ छ । 

बैङ्कसँगको सहकार्यमा सञ्चालन हुने केन्द्रहरु बैशाख ७ गतेभित्र सञ्चालनमा ल्याइसक्ने बाँकी क्लिनिकहरुलाई चालु आर्थिक बर्षको अन्त्यसम्ममा सञ्चालन गरिसक्ने विभागको योजना छ । 

बैङ्कसँगको समझदारी २०८१ असार मसान्त सम्मका लागि हो । समझदारीका बुँदा परिपालना गराउन नसकिने अवस्थामा १५ दिनको सूचना दिएर अन्त्य गर्न सकिनेछ ।