close

१५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन

१५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन

Trulli
ADVERTISEMENT

काठमाडौं । देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । 

पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा इन्टरनेटको समस्याका कारण एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको जानकारी गराइएको हो । 

सो अवसरमा छ हजार पाँच सय ८४ वडामा अनलाइन माध्यमबाट व्यक्तिगत घटना दर्ता हुने गरेको जानकारी गराइएको थियो । कार्यक्रममा वडा वडामा व्यक्तिगत घटना दर्ता शिविर पनि सञ्चालन गर्ने गरिएको जनाइएको छ । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले व्यक्तिगत घटना दर्तामा देखा परेका समस्या सम्बोधन गरिने प्रतिबद्धता जनाए । व्यक्तिगत घटना दर्तामा परेका समस्या समाधानका लागि आवाज बुलन्द हुनुपर्ने उनको भनाइ छ। 

विभागले १५ दिनअघि परिपत्र जारी गरेपछिका चार दिनमा एकल महिलाका तीन सय ६६ सन्तानको जन्मदर्ता भएको उनले जानकारी दिए । परिपत्रमा केही भाषा संशोधन गर्नुपर्ने सुझाव आएको चार दिनमा त्यसलाई सुधार गरिएको उनले बताए। 

'सुत्केरी महिलाले ३५ दिनभित्र बालबालिकाको जन्मदर्ता गर्न सक्दैनन् ।निजामती सेवामा काम गर्ने महिलाले ९८ दिन त बिदा नै पाउँछन् । यसैले कम्तीमा पनि ९८ दिन जन्म दर्ताका लागि समय दिनुपर्छ भन्ने हाम्रो पनि अनुभव छ', महानिर्देशक पण्डितले भने।
 
विभागका निर्देशक नवराज जैसीले जन्मदर्ता, मृत्यु दर्ता जस्ता घटना शतप्रतिशत हुने गरी अभियान चलाउन लागिएको जानकारी दिए । अदालतको फैसला अनुसार पनि जन्मदर्ता हुने गरेको जानकारी पनि उनले बताए । 

    मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले जन्मदर्ता बालबालिकाको मौलिक हक भएकाले ३५ दिनपछि गर्दा पनि शुल्क नलाग्ने गरी कानुन संशोधन गर्नुपर्नेमा जोड दिए ।