close

सीसीटीभी जडान गर्न नेपाल प्रहरीलाई महानगरको ६ करोड

सीसीटीभी जडान गर्न नेपाल प्रहरीलाई महानगरको ६ करोड

Trulli
ADVERTISEMENT

काठमाडौं ।काठमाडौं महानगरपालिले सीसीटीभी जडान गर्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो । 

यसका लागी महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ ।  


सम्झौतापछि महानगरका प्रमुख शाहले सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नु पर्नेमा जोड दिए। ‘सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ । यो नियमित हुनेछ,’ प्रमुख शाहले भने ।

‘नेपाल प्रहरीले महानगरसँग धेरै क्षेत्रमा सहकार्य गर्न सक्छ । महानगरपालिकाले युवा प्रमुख प्राप्त गरेपछि सुधारका काममा हामी पनि उत्साहित छौँ ।’ अतिरिक्त महानिरीक्षक ज्ञवालीले भने, ‘महानगरका क्षेत्रगत काममा प्रहरी जोडिन सक्छ ।’

नेपाल प्रहरीसँग सीसीटिभी क्यामरा सञ्चालन सम्बन्धी प्राविधिक जनशक्ति छन् । यसलाई निगरानी गर्ने संयन्त्रसँग अनुभव छ । यसकारण हामीले नेपाल प्रहरीलाई सीसीटिभी क्यामरासँग सम्बन्धित कामका लागि सहयोग गरेका हौँ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ छ ।