close

राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध

राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गरेका छन् ।

बुटवल १२ मा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको काम अगाडि बढाउनका लागि बुटवल उपमहानगरपालिकाको तर्फबाट सबै प्रक्रिया पूरा भइसकेको बताउँदै उनले आवश्यक सहजीकरणका लागि मन्त्री शर्मालाई अनुरोध गरेका हुन्  ।

उनले सञ्चार मन्त्रालयबाट स्थानीय सरकारलाई सूचना र सञ्चारका क्षेत्रमा सक्षम बनाउनेगरी कार्यक्रम ल्याउन सुझाव दिए । उनले स्थानीय सरकारले साधन श्रोतको सीमितताका कारण सूचना र सञ्चारका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै संघीय सरकारले स्थानीय सरकारलाई तथ्यांक र अभिलेख राख्नका लागि सहजीकरण गर्नुपर्ने बताए ।

उनले संघीयताको मर्मअनुसार स्थानीय सरकारका अधिकार कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्नका लागि मन्त्री शर्मासँग अनुरोध गरे ।

भेटका क्रममा मन्त्री शर्माले बुटवलको सञ्चार केन्द्र निर्माणको काम छिटै नै अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले संघीय सरकार र स्थानीय सरकारका बीचमा सहकार्य र समन्वयबाट प्रभावकारी काम हुनसक्ने बताए ।

केहीदिनअघि काठमाडौं गएका  उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यसअघि अर्थ मन्त्रालय र अन्य मन्त्रालयहरुमा पुगेर बुटवलको विकासका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नका लागि छलफल र भेटघाट गरेका छन। यस्तै बुधबार प्रमुख पाण्डेयले अन्य मन्त्रालय र विभागहरुका अधिकारीहरुसँग भेटेर बुटवलको विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ ।