close

गुल्मीमा हवाई सेवाको सुनिश्चतता

गुल्मीमा हवाई सेवाको सुनिश्चतता

Trulli
ADVERTISEMENT

गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ ।

निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष बिष्टका अनुसार अबको एक हप्तामा निगमको जहाजले नियमित उडान गर्नेछ । 

यसअघि तारा एयरले परीक्षण उडान गरे पनि भाडादर महँगो भएपछि सम्झौता तोडिएको थियो । उक्त एयरले प्रतियात्रु आठदेखि नौ हजार भाडादर कायम गरेको थियो ।  निगमको जहाजले प्रतियात्रु छ हजारमै उडाउने भएपछि रेसुङ्गा नगरपालिकाले निगमसँग सम्झौता गरेको थियो । 

'परीक्षण उडानमा निगम र नागरिक उड्ययन प्राधिकरण क्यानका प्राविधिक आएका थिए । विमानस्थलको अवस्था पूर्ण रुपमा ठीक छ ।बिहानी समयमा उडान राम्रो हुन्छ', क्याप्टेन बिष्टले भने, 'रिपोर्ट तयार गरी क्यानलाई बुझाएर एक हप्तामै नियमित उडान हुन्छ ।' जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ । 

    रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समयसम्मको प्रयास गरी नेपाल एयरलाइन्सले परीक्षण गरेको बताए । 'गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका छौँ', उनले भने, 'अब नियमित उडानपछि गुल्मेलीको सपना साकार हुन्छ ।' निगम र रेसुङ्गा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भइसकेको छ ।