close

स्थानीय तहबाटै याेजना छनोट  हुँदै

स्थानीय तहबाटै याेजना छनोट  हुँदै

Trulli
ADVERTISEMENT

बैतडी ।  सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक  स्थानीय तहहरुलाई  योजना छनोट गर्न माग गरेको छ । प्रदेश सरकारबाट आवश्यक पर्ने योजना छनोट  गर्न  स्थानीय तहहरुलाई  माग गरिएको हो ।  

स्थानीय तहहरुले पठाएका योजनाहरुलाई प्रदेश सरकारले छनोट गर्ने जनाएको छ ।  योजना छनोटका लागि प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।  प्रदेश सरकारले पहिलो पटक स्थानीयस्तरबाट योजना छनोट कार्य सुरु गरेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले जानकारी दिए। उनले भने, 'निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेर प्रदेश सरकारले पहिलोपटक योजना माग गरेको हो ।'

    योजना छनोट गर्न जिल्लाका दुईओटै प्रदेशसभा क्षेत्रमा कार्यशाला गोष्ठी सम्पन्न भइसकेको र थानीय तहबाट आएका योजनाहरुलाई प्राथमिकीकरणका आधारमा छनोट गरिने जनाइएको छ ।  कार्याशाला गोष्ठीमा प्रदेशसभा सदस्यहरु, सबै पालिकाका प्रमुख उपप्रमुख लगायतको उपस्थिति रहेको थियो । 

    प्रदेशका योजनाहरु छनोटका लागि पहिलो पटक स्थानीयस्तरबाट योजनाहरु माग गर्न कार्यशाला गरिएको  र स्थानीय तहहरुबाट  योजनाहरु आउने क्रम जारी रहेको  प्रमुख जोशीले बताउनुभयो ।  प्रदेश सरकारले माग गरेअनुसार स्थानीय तहहरुबाट योजना आउने क्रम जारी रहेको छ । उनले भने, 'जिल्लाका पाँच पालिकाबाट योजना छनोट गरेर पठाएका छन्, पाँच पालिकाको आउन बाँकी छ । वैशाख २३ गतेसम्म सबै पालिकालाई पठाउन भनेका छौँ, त्यसपछि प्राथमिकीकरण गरेर प्रदेश सरकारलाई पठाउँछौँ ।'

    पालिकाबाट छनोट हुने योजनाहरु एकै स्थानीय तहबाट तीन सयसम्म रहेकाले छनोटमा समस्या भइरहेको जोशीले बताए ।  उनले भने, 'एउटै पालिकाबाट तीन सयसम्म योजना छनोट भएर आएका छन् । तिनीहरुलाई छनोट गर्न चुनौती छ । आएकामध्ये हामीले प्राथमिकताका आधारमा छनोट गरेर पठाउँछौँ ।'

    प्रदेशसभाका दुवै गोष्ठीबाट प्राप्त भएका योजनाहरु जिल्लास्तरीय बैठकको आयोजना गरेर टुङ्ग्याउने जनाइएको छ । केही दिनमै जिल्लास्तरीय बैठकको आयोजना गर्ने र त्यसबाट योजना छनोटको काम टुङ्ग्याइने प्रमुख जोशीको भनाइ छ ।   

    जिल्लास्तरीय  बैठकमा दुबै क्षेत्रका माननीय, समन्वय समिति, प्रदेश सरकार अन्र्तगतका १३ कार्यालयका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।   यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वैशाख दोस्रो साता जिल्ला भ्रमणका क्रममा पनि प्राथमिकताका आधारमा योजना छनोट गरिने बताउए । पहिलो पटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाहरुको वस्तुस्थिति बुझ्ने सोही अनुसार आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने उनले विश्वास दिलाए । साथै  उनले  स्थानीय नागरिकको आवश्यकतामा आधारित योजनाहरु प्रदेश सरकारले निर्माण गर्ने र ती योजनाहरुमात्रै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

प्रदेश सरकारले छनोट गरेका योजनाहरु स्थानीय तहलाई जानकारी नहुँदा यसअघि विवाद हुने लगायतका समस्या आउने गरेकामा अब त्यसको अन्त्य हुने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदको विश्वास रहेको छ । प्रदेश सरकारले पहिलोपटक स्थानीय तहबाटै योजना छनोट माग गर्नु निकै राम्रो कार्य हो ।  उनले भने, 'यसअघि प्रदेश सरकारका योजना कहाँबाट कसरी आए भन्नेसमेत थाहा हुँदैन्थ्यो । अहिले प्रदेश सरकारले स्थानीय तहबाटै योजना छनोट गर्न माग गर्नु निकै राम्रो कार्य हो ।'

स्थानीय सरकारलाई जानकारी नहुने गरी यसअघि प्रदेशका योजना छनोट हुने गरेकामा अबको यो अभ्यासले एकखालको पद्धति बस्ने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । उनले भने, 'विगतमा आफ्नै तरिकाले योजना छनोट हुने गरेका थिए । अब विधिवतरूपमा आउनाका साथै कार्यान्वयनको पाटो पनि फितलो नहुने र प्रभावकारी हुनेछन् ।'