close

धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग

धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग

Trulli
ADVERTISEMENT

बाग्लुङ । तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्याे । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउँथे उनी । गाउँको बीचमा रहेको एउटा धारोबाट सिङ्गो टोलका स्थानीयले पानी भर्नुपर्ने बाध्यता थियो तर अहिले कसैले पनि पानी भर्न घण्टौँ कुर्नु  नपरेकाे उनी बताउँछन् ।

अहिल प्रत्येकको घर–घरमा धारा जडान भएका छन् । 'गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो । सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो,' उनले भनिन्, 'अहिले घरकै आँगनको धारोमा पानी आउँछ । घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।' 

खोलेस्बाङ गाउँमा गोर्खा वेयलफेयर संस्थाले एक घर एक धारा निर्माण गरी दिएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ । विसं २०७८ चैतदेखि सुरु भएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजना विसं २०७९ जेठमा सम्पन्न भएको थियो । खानेपानी आयोजना निर्माणका लागि वेयदफेयर संस्थाले रु ७८ लाख सहयोग गरेको थियो भने स्थानीयले ९९ सय दिन जनश्रमदान गरेका थिए । घर–घरमा धारो बनेपछि पहिले सुक्खा रहेका स्थानीयका करेसा बारी अहिले तरकारीले हरियाली भनेका छन् । पशुचौपायाले पेटभरी पानी पिउन पाएका छन् भने शौचालय पनि सफा भएका छन् ।

अहिले गाउँमा एक सय ३५ घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् भने सार्वजनिक ठाउँमा चार वटा थप नयाँ भारा निर्माण भएका छन् । स्थानीलाई पहिलेको जस्तो पानी सुक्छ भन्ने चिन्ता पनि छैन । आवश्यकताअनुसार पानीको प्रयोग गर्न सकिने श्यामकुमारी बताउँछन् । पहिले खेतीयोग्य जमिन हुँदा पनि पानीका कारण तरकारी खेती गर्न नसकिएको भन्दै अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था नरहेको रसाइलीको भनाइ छ । अहिले पानी बोक्ने समय अन्य काम गर्ने गरेको उनले बताए ।

गाउँमा सिद्धविर मुहानबाट गाउँमा पानी ल्याएको हो । बरिक तीन किलोमिटर टाढाबाट पाइप लाइनमार्फत पानी झरालिएको छ । एक सय ३९ धाराका लागि ११ वटा ट्याङ्की निर्माण भएका छन् । पानीलाई व्यवस्थित गर्नका लागि मिटर जडान गरिएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजनाका सचिव लिलबहादुर पुनले जानकारी दिए । उनले गाउँमा स्वच्छ खानेपानी आएपछि आफूहरुको वर्षौंदेखिको समस्या समाधान भएको बताए । एक घर एक धाराले गाउँलेको मुहारमा खुसी छाएको सचिव पुनको भनाइ छ ।

'खोलेस्बाङमा खानेपानीको समस्या वर्षौंदेखिको हो । धेरै ठाउँमा खानेपानीको माग पनि भएको थियो । तर अघिल्लो वर्ष बल्ल समाधान भयो। दुर्गमको भएर होला सम्बन्धित निकायले पहिला कुनै ध्यान दिएनन्', उनले भने,  'अहिले गाउँपालिकाले पनि सहकार्य ग¥यो । वेयलफेयर संस्थाले ठूलो लगानी ग¥यो । गाउँलेले पनि धेरै श्रम गरे ।सबै पक्षको साथ र सहयोगले गाउँमा पानी आयो । हामीहरु धेरै खुसी भएका छौँ, हाम्रा पुस्ताले जति खानेपानीका लागि दुःख पायौँ । नयाँ पुस्ताले त्यो समस्या भोग्नु पर्ने छैन् । अहिले हरेकको घरमा धारा बनेको छ, त्यसलाई संरक्षण गरेर प्रयोग गर्नुपर्छ ।'

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले सिङ्गो समुदायसहित विद्यार्थी र स्वास्थ्य संस्थामा आउने बिरामीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोमा अब त्यो समस्या समाधान भएको बताए । पालिका भरका अधिकांश घरमा ‘एक घर एक धारा’ निर्माण भइसकेको भन्दै केही बस्तीमा अहिले आयोजना सञ्चालनमा रहेको अध्यक्ष बुढा मगरको भनाइ छ । अबको केही समयमा तमानखोला गाउँपालिकाका कुनै पनि बस्तीमा खानेपानीको समस्या नहुने उनी बताउँछन् ।

'हामीहरु निर्वाचित भएर आएको पहिलो कार्यकालदेखि नै खानेपानीको समस्या समाधान गर्न थालेका हौँ । अहिलेसम्म आउँदा ९० प्रतिशत नागरिकले सहजरुपमा खानेपानी पाएका छन् । अहिले पनि धेरै ठाउँमा योजना सञ्चालन भइरहेका छन्', अध्यक्ष बुढा मगरले भने, 'धेरै ठाउँमा पालिकाकै लगानीमा खानेपानी आयोजना सम्पन्न भएका छन् । केही गाउँमा सञ्चालन भएका आयोजनामा विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेका छौँ ।'