close

ज्येष्ठ नागरिक दिवासेवा केन्द्र दुःखसुख बिसाउने थलो

ज्येष्ठ नागरिक दिवासेवा केन्द्र दुःखसुख बिसाउने थलो

Trulli
ADVERTISEMENT

दाङ । घोराहीमा सञ्चालित ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ ज्येष्ठ नागरिको दुःखसुख बिसाउने थलो बनेका छन् । घोराही–६ का ९१ वर्षीय चुडामणि पौडेल गाउँमा सञ्चालन भएको दिवासेवा केन्द्रमा दैनिक आउँछन्। त्यहाँ आफूसँग उमेर मिल्ने साथीसँग भलाकुसारी, सुखदुख बाँड्न, भजनकीर्तन गर्न, नाच्न गाउन, कथाव्यथा सुन्न, सुनाउन उनलाई आनन्द लाग्ने गरेको बताउँछन् । लट्ठीको सहारामा दिवासेवा केन्द्र पुग्न पाउँदा पौडेल औधी खुसी देखिन्छन् । 

उनले भने, 'पढ्न जान्ने र आँखाले साथ दिने साथीले रामायण महाभारतका श्लोेक पढेर सुनाउनुहुन्छ, यो सुन्दा आन्नद आउँछ ।' घरपरिवारका सदस्य दिउँसो काममा व्यस्त हुँदा एक्लै बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो हुने भएकाले केन्द्र पुग्ने पौडलेको भनाइ छ । 'यहाँ आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ', उनले भने।


 घोराही–६ को वडा कार्यालयले शुभलक्ष्मी टोलमा वडाका ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गरेपछि त्यो दैनिक भेटघाटको थलो बनेको हो । घोराही–१५ की भगवता गौतम उमेरले ७१ वसन्त पार गरे । अचेल उनको दैनिकीमा परिवर्तन आएको छ । घोराही–१५ को उत्साहटोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा नगइ उहाँको मन मान्दैन । गौतमलाई बिहान ११ बजे दिवा सेवा केन्द्रमा पुगिसक्नुपर्छ, त्यहाँ पुगेपछि दुख पीडा भुल्ने गरेको उनी बताउँछन् ।

'आफूसँगैका साथीसँग भेट हुन्छ । धेरै वर्षदेखि भेट् नभएका आफन्त र साथीसँग भेट हुँदा आनन्द आउँछ', गौतमले भने । वर्षाैसम्म भेट नभएका साथीसँग भेट हुँदा र भलाकुसारी गर्न पाउँदा उनी  दङग छन् । उनीहरु दिवा सेवामा आएर रमाइलो गर्ने गर्छन्। 

उपहानगरपालिकाको सहयोगमा चार वर्ष अघिदेखि सेवा केन्द्र सञ्चालनमा छ । घोराही–१४ का ७६ वर्षीय चित्रकान्त आचार्यलाई एकदिन पनि केन्द्र छुट्ट्याउन मन लाग्दैन । 'केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाइ त घरमा बस्न मन लाग्दैन', उनले भने । घरमै बसेका ज्येष्ठ नागरिकलाई केन्द्रसम्म आउन सहजीकरण गरिरहेको उनले बताए । 

'आफूजस्तै साथी भेटिएपछि मनका कुरा गर्ने ठाउँमा मन भुल्दो रहेछ, नाचगान गर्दा झनै मज्जा आउँछ', आचार्यले भने । उनका अनुसार २०७४ सालमा केन्द्र स्थापना भएको हो । घोराही उपमहानगरपालिका र १४ नम्बर वडा कार्यालयको सहयोगमा हल निर्माण गरिएको हो । वडाले प्रत्येक वर्ष घोराही नगरपालिकाले चिया नास्ताको व्यवस्था गरेको छ । 

'दैनिक २२/२५ ज्येष्ठ नागरिक आउनुहुन्छ । यहाँ आउनलाई कसैलाई रोकावट छैन । जम्मा हुनासाथै आरती गाउने, त्यसपछि भजन गाउने, गफ गर्ने र नाचगान गर्ने गरिन्छ', उनले भने । चियाको व्यवस्था पनि केन्द्रमै छ । ज्येष्ठ नागरिकलाई खानेपानी र शौचालयको राम्रो व्यवस्था छ । 

घोराही उपमहानगरपालिकाले पालिकाभित्रका एक देखि १९ वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरेको छ । घरभित्रै सीमित हुन पुगेका ज्येष्ठ नागरिक एकै स्थानमा जम्मा भएर दिन बिताउन सजिलो होस् भनेर केन्द्र स्थापना गरिएका हुन् । घोराही उपमहानगरपालिकाले रु पाँच लाख खर्चेर घोराही–१५ उत्साह टोलमा निर्माण गरेको दिवा सेवा केन्द्रमा दैनिक २५ देखि ३० ज्येष्ठ नागरिक भेला हुने गरेका केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

'साठी वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ । उहाँहरुलाई चिया र बिस्कुटको व्यवस्था नगरपालिकाले गरेको छ', उनले भने । चार वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, मुरली, खैजडी, मुजुरालगायत बाद्यवादनका सामग्री उपलब्ध छन् । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन र नाचगान गर्छन् । 'केन्द्रमा विभिन्न दाताबाट टेलिभिजन र कम्प्युटरको व्यवस्था गरिएको छ', खनालले भने । 

 विभिन्न किसिमका धार्मिक पुस्तक र दाङबाट दैनिक प्रकाशन हुने पत्रपत्रिका पनि आउने गरेको उनले बताए । धार्मिकग्रन्थको पाठ र प्रवचन कार्यक्रम समय तालिका अनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउँछन् । उपमानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले १९ वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको बताए । ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर समय समयमा स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको उनले जानकारी दिए ।