चितवन । इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ । गाउँपालिकाले सूचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले विपन्न परिवारलाई रेडियो वितरण गरेको हो ।
पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ । रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे । आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत–सङ्गीत, समाचार सुन्न पाउने भइयो भन्दै उनले गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यावाद दिए ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्दैछ । सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उनको भनाइ छ ।
अध्यक्ष गुरुङले भने, 'सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हुँदैन । यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा छैनन् । ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।' यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडियो भएको उनको भनाइ छ ।
देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ । रेडियो सुन्ने बानीको विकाससँगै रेडियोबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उनको भनाइ छ ।