close

अनधिकृत  प्लटिङमा महानगरको डोजर

अनधिकृत  प्लटिङमा महानगरको डोजर

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका  प्लटिङ भत्काएको छ । विश्व रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्र पुरेर बनाइएका २७० बढी प्लटिङ डोजरको प्रयोग गरी महानगरले भत्काएको हो । 

 पोखरा २४ पामेक्षेत्रको करिब ९० रोपनी क्षेत्रफल सिमसार पुरेर अनधिकृत रूपमा ती प्लटिङहरू निर्माण गरिएका थिए । फेवातालको दलदले क्षेत्र पुरेर धमाधम प्लटिङ गर्न थालेपछि महानगरपालिकाले पटक पटक सिमसार क्षेत्रमा सो कार्य नगर्न गरेको अनुरोध गर्दै आएको थियो । तर अटेर गरी माटो फिलिङ गरी घडेरी छुट्ट्याउन डीपीसी निर्माण गरेपछि त्यसलाई महानगरपालिकाले भत्काइदिएको हो । 

सिमसार पुर्ने अनधिकृत कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाका १ दर्जन बढी टिप्पर र जेसिबीका चाबीहरू अहिले पनि महानगरपालिकाको नियन्त्रणमा छन् । वनको भाग कटान गरी सिमसार पुर्ने कार्यमा प्रयोग गरिएको एउटा जेसिवी र टिप्पर समेत महानगरपालिकाको नियन्त्रणमा छ । उनले त्यस क्षेत्रका स्थानीयहरूलाई उक्साएर सिमसार क्षेत्र पुर्ने कार्यमा प्रेरित गर्दै आएका थिए । 

फेवातालको माथिल्लो क्षेत्र वा फेवा फाँट जुन विश्व रामसार सूचिमा सूचिकृत छ । यो फेवातालको आयुसँग प्रत्यक्ष जोडिएको क्षेत्र पनि हो । सिमसार क्षेत्रमा कुनै प्रकारको गतिविधि नगर्न अदालतले अन्तरिम आदेश दिँदा पनि केही स्वार्थ समूहहरूले यसमाथि निरन्तर प्रहार गरिरहेका छन् । पछिल्लो पटक गरिएको भू–वर्गीकरणमा सो क्षेत्रलाई कृषि र अन्य भनी वर्गीकरण गरिएको भए पनि, अन्य अन्तरगतका ९ वटा क्लस्टरहरु विभाजन भने बाँकी नै रहेको छ । 

मङ्गलवार महानगरपालिकाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीको उपस्थितिमा दुई वटा जेसीबी प्रयोग गरी प्लटिङ भत्काइदिएको हो । साथै सो क्षेत्रमा निर्माणका कुनै पनि गतिविधिहरू नगर्न र यसअघि निर्माण गरिएका अस्थायी टहराहरू तत्काल हटाउन महानगरपालिकाले निर्देशन दिएको छ । 

फेवातालको संरक्षणका लागि सिमसार क्षेत्रमा हुने कुनै पनि प्रकारका अस्वाभाविक गतिविधिहरूलाई निस्तेज पार्ने स्थानीय सरकारको दायित्व प्रति आफूहरू सचेत रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

'पहिले आग्रह गर्‍यौँ, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर चलाउन बाध्य हुनुपर्‍यो,'  प्रमुख आचार्यले भने, 'फेवाताल पोखरा र पोखरा फेवाताल यी एक अर्कामा अन्योन्याश्रित छन् ।'