close

विधायनका समितिका माननीय भक्तपुरमा

विधायनका समितिका माननीय भक्तपुरमा

Trulli
ADVERTISEMENT

भक्तपुर । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका माननीय पदाधिकारीहरुद्वारा बुधबार भक्तपुर नगरपालिका र नगरपालिकाद्वारा सञ्चालित अस्पताल तथा कलेजको अध्ययन अवलोकन भ्रमण गरेका छन्  ।

 समितिका सभापति मा जयन्तीदेवी राईको नेतृत्वमा समितिका माननीय सदस्यहरुले प्रदेश तथा स्थानीय तहको कानुन निर्माण प्रक्रिया र भक्तपुर नगरपालिकाका असल अभ्यासबारे अनुभव आदानप्रदानको उद्देश्यले  अध्ययन भ्रमण गरेको जनाइएको छ । 

टोलीलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा स्वागत गरेका थिए।

समितिका सभापति राईले संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापना गर्ने बाटोमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि अग्रसर भएको बताउँदै संघीय लोकतान्त्रिक व्यवस्थालाई सफल तुल्याउन स्थानीय तहहरुलाई अधिकार सम्पन्न पार्नुपर्ने धारणा राखे  ।

नपाबाट सञ्चालित कलेज र ख्वप अस्पताल भ्रमण गर्ने अवसर पाएकोमा खुशी प्रकट गर्दै उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा सराहीय काम गरिरहेको बताए । 

उनले सबैको लागि अध्ययन गर्ने थलोको रुपमा विकास भएको बताउँदै भ्रष्टाचारशून्य र पारदर्शिता नै यस नगरको विशेषता भएको बताए ।

सांसद राईले स्थानीय तहले आफ्नो अधिकार र कर्तव्य पहिचान गरी संविधानअनुरुप ऐन, नियम र कानुनहरु निर्माणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा  नगरपालिकाका प्रमुख प्रजापतिले संघीयता कार्यान्वयनका चुनौतीहरुबारे विस्तृतमा आफ्नो धारणा राख्दै स्थानीय तहलाई संघ र प्रदेशले आफ्नो एकाइ जस्तो व्यवहार गर्नु यथोचित नभएको बताउँदै संविधानको भावनाअनुरुप स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने विचार राखे  ।