close

भूमिहिन सुकुम्वासी तथा दलितहरुलाई निस्सा वितरण सुरु

भूमिहिन सुकुम्वासी तथा दलितहरुलाई निस्सा वितरण सुरु

Trulli
ADVERTISEMENT

धनकुटा– साँगुरीगढी गाउँपालिकाका भूमिहिन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरणका गर्नको लागि निस्सा प्रदान सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले साँगुरीगढी गाउँपालिका भरिका ३९ घरपरिवारलाई भूमिहीन सुकुम्वासी तथा दलितहरु लालपुर्जा वितरण गर्नका लागि निस्सा प्रदान सुरु गरेको हो। 

निस्सा वितरण गरिएको कुल ३९ घरपरिवार मध्ये १० घरपरिवार भूमिहिन दलित र बाँकी २९ घरपरिवार सुकुम्वासी भूमिहिन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। उनका अनुसार निस्सा वितरण भएसँगै लालपुर्जा प्राप्तिको प्रक्रिया सुरु भएको छ। 

गाउँपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर भूमिहिन सुकुम्वासी तथा दलितहरूको लगत संकलन गरेको थियो। वडा सचिव मार्फत रुजु र कम्प्यूटर इन्ट्रीका काम गरिएको थियो। त्यसपछि लगत संकलनबाट प्राप्त नामावलीलाई राष्ट्रिय भूमि आयोगको निर्देशिका अनुसार कार्यपालिका वैठकले भूउपयोग स्वीकृत गरेर प्रमाणीकरण गरि ४६ जनाको नाम आयोगमा बुझाइएको प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले बताए। उनका अनुसार ४६ जनाको नाम बुझाइपनि ३९ वाहेक ७ जनाको नाममा जग्गा देखिएपछि सूचिबाट हटाइएको थियो। 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष वलवहादुर राईले निस्सा पाएका लाभग्राहीहरुको थप अनुगमन गरि जग्गा वितरण गर्न नाँपचाँज गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपुर्जा वितरणको कार्य सुरु हुने बताए ।