close

मुख्यमन्त्रीले नगरप्रमुखलाई गरे दमकल र पिकअप भ्यान हस्तान्तरण

मुख्यमन्त्रीले नगरप्रमुखलाई गरे दमकल र पिकअप भ्यान हस्तान्तरण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई एक थान दमकल र एक थान पिकअप भ्यान  हस्तान्तरण गरेका छन् । उक्त दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गर्दै उनले  विकास, प्रगति र समृद्धिका निम्ति राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता हुनु आवश्यक रहेको बताए । 

मुख्यमन्त्री थापाले जनतासँग जोडिएका सेवाहरु प्रदान गर्न प्रदेश सरकार सचेत रहेको र विपद्को समयमा पनि जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको बताए । मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको जानकारी दिँदै उनले सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको उल्लेख गरे ।

मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसेको र डेङ्गु रोगका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिए ।

उनले प्रदेशमा लम्पी स्किन रोगबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपायमा असर परेको उल्लेख गरे । कार्यक्रममा उक्त मन्त्रालयका सचिव सुरेश राउतले विपद् व्यवस्थापनका लागि मन्त्रालयले योजनाबद्ध काम गरिरहेको जानकारी दिए । 

ताप्लेजुङको सदरमुकाम फुङ्लिङका अधिकांश घर काठबाट निर्मित रहेकाले कुनै पनिबेला  हुनसक्ने आगलागी नियन्त्रण एवं रोकथाम गर्न मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने नगर प्रमुख मादेनले उल्लेख गरे ।