close

बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै

बेलासे गाउँलाई जलवायु अनुकूलित बनाइँदै

Trulli
ADVERTISEMENT

इलाम - इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाउन काम थालिएको छ । इलाम नगरपालिकाको ११ स्थित सो गाउँलाई स्थानीयको पहलमा काम सुरुआत गरिएको हो । 

क्यानाडा कोषकोे सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र (नासाविके) इलामले बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजना सुरु गरेको हो । ‘नमूना जलवायु अनुकूलित गाउँमार्फत जलवायु उत्थानशीलता बढाइ प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपको प्रभाव न्यूनीकरण गर्ने’ ध्येय रहेको सो परियोजना आठ महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

यसका लागि स्थानीय समुदायलाई जलवायु अनुकूलित गाउँ निर्माणसम्बन्धी सचेतना बेलासेमा सम्पन्न भएको छ । नासाविके इलामका आयोजना प्रमुख हीराकाजी घलेले यो परियोजना सञ्चालनपछि स्थानीयलाई हुने फाइदाका बारेमा जानकारी गराएका थिए। कार्यक्रम अधिकृत सुबोध निरौलाले परियोजनाले स्थानीयलाई सहजता र स्थानियको दैनिकीमा सहजता थप्ने बताए । इलाम–११ का अध्यक्ष टासी जवेगुले हाल जलवायु परिवर्तनले असर गरेको जनाउँदै यो परियोजनाले वडावासीलाई फाइदा पु¥याउने बताए । 

झापा–इलाम द्रुत मार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना सञ्चालन गरिने छ । इलाम नगरपालिकाको साझेदारीमा सञ्चालन हुने परियोजनासम्बन्धी सचेतनासमेत स्थानीयलाई गरिसकिएको बताइएको छ ।

परियोजनामार्फत बेलासेको बाँझो जमिन सिँचाइ गरी जलवायु अनुकूलित खेती प्रणाली अवलम्बन गरिने भएको छ । माइखोला आसपासको बेलासेमा सयौँ रोपनी जमिन बाँझै रहेको र त्यहाँ सिँचाइको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्तामले बताए। 

परियोजनामार्फत बाँझो जमिन सिँचाइका लागि माइखोलाको पानी सोलार लिफ्टिङ गरी ल्याइने भएको छ । कूल रु ६५ लाख ४५ हजार छ सय ३६ लागतमा सञ्चालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकूलन खेती प्रणाली, र जलवायु अनुकूलन गाउँको योजना निर्माण गरिने जनाइएको छ ।