close

भजनीका बाढी पीडितलाई स्नेह केन्द्रमा राखियो

भजनीका बाढी पीडितलाई स्नेह केन्द्रमा राखियो

Trulli
ADVERTISEMENT

कैलाली- भजनीमा बाढीको जोखिममा रहेका गर्भवती, सुत्केरी र  बच्चालाई स्नेह केन्द्रमा राखिएको छ । भजनी नगरपालिकाको स्नेह केन्द्रमा बाढी प्रभावित ४२ बसिरहेका छन् । बाढीले घर डुबानमा परेपछि गर्भवती, सुत्केरी, अपांगता भएका तथा ज्येष्ठ नागरिकलाई केन्द्रमा राखिएको हो ।

 केन्द्रमा २१ बच्चा, पाँच गर्भवती, छ सुत्केरी, सात अन्य महिला, एक किशोर, एक किशोरी र एक जना ज्येष्ठ नागरिकलाई राखिएका छन् । भजनी–३ दैलेखीटोलकी लीला सुनार घरमा बाढी पसेपछि आठ महिनाकी छोरी लिएर स्नेह केन्द्रमा बसेकी छिन् । यहाँ आएपछि उनलाई ढुक्क भएको छ । 

अब पानी घटेपछि घर फर्कने उनको तयारी छ । 'घरमा अहिले पनि पानी बगिरहेको छ । बाढी पसेपछि छोरी लिएर कहाँ जानु चिन्तामा थिएँ', उनले भने, 'नगरपालिकाले बच्चाका आमा र बच्चाका लागि सुरक्षित आवास छ भनेपछि यही आएँ । यहाँ आएपछि छोरीको पनि राम्रो स्याहार भएको छ ।'

लीला बच्चासहित स्नेह केन्द्रमा बसे पनि उनका परिवारका सदस्य भने पाल टाँगेर सडकमा बसिरहेका छन् । पालिका र सङ्घसंस्था मिलेर सञ्चालन गरिएको स्नेह केन्द्रमा बसेकाहरू बाढी घटेपछि घरमा बस्न मिल्ने वातावरण भएपछि घर फर्कनेछन् ।
 
गर्भवती सपना सुनार पनि बाढी आएर घरमा बस्न नमिलेपछि सुरक्षित आवास गृहमा बस्न आएकी छिन् । 'घरमा बाढी पस्न थाल्यो, बाढीले बस्ती नै डुब्यो', उनले भने, 'गर्भावस्थाकी म कहाँ भागौँ, सडकमा गएर कसरी बसौँ भन्ने पिर थियो । उपप्रमुखले स्नेह केन्द्रमा आउन भन्नुभयो । यहाँ आएपछि सहज भएको छ ।'

केन्द्रमा बसेका महिलाको स्वास्थ्य परीक्षण, नियमित योगाभ्यास र पोषणयुक्त खानेकुराको व्यवस्था नगरपालिकाले गरेको छ । बाढीले तनाव रहेकाहरूमा मनोसमस्या सिर्जना नहोस् भनी उनीहरूलाई खुसी राख्ने प्रयास गरिएको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा बताउँछन्। 'यसरी स्नेह केन्द्रमा बसिरहेकालाई योग कक्षासहित, मनोरञ्जन, उपचार सेवा र खानपानको राम्रो व्यवस्था गरिएको छ', उनी भन्छन्, 'बाढीले सयौँ परिवार विस्थापित छन्, विस्थापितमध्ये महिला तथा बालबालिका बढी जोखिममा हुने भएकाले स्नेह केन्द्रमा बसोबासको व्यवस्था मिलाइएको छ ।'

विस्थापित अधिकांश उच्च भवन तथा हुलाकी सडकमा बसिरहेका छन् । सबैलाई यसैगरी पालिकाले राख्न सक्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ । यही साउन २२ गते आएको बाढीले भजनी नगरपालिकामा नौ सय ९९ परिवार विस्थापित भएका छन् । बाढीले दुई हजार तीन सय ४२ परिवार प्रभावित भएका छन् । विस्थापित केही पानी घटेपछि घर फर्किएका छन् । भजनीमा बाढीका कारण पूर्ण रूपमा २ घरमा क्षति भएको छ ।

त्यहाँ अहिले पनि १५ परिवार उच्च जोखिममा छन् । बाढीका कारण विस्थापित भएकाहरू हुलाकी सडकमा आश्रय लिएर बसिरहेका छन् । विस्थापितलाई पालिकाले खानपानका लागि खाद्यान्नलगायतका राहत उपलब्ध गराउन सुरु गरेको छ । भजनीमा बाढीले क्षति पुर्याउनुका साथै नागरिक विस्थापित भएपछि विभिन्न सङ्घसंस्थाले समेत राहतमा सहयोग गर्न थालेका छन् ।